काठमाण्डु, ६ पुस– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा मंकीपक्स संक्रमित भेटिएको भन्दै सचेत रहन आग्रह गरेको छ ।
मन्त्रालयले विज्ञप्ति जारी गर्र्दै मंकीपक्ससँग मिल्दोजुल्दो लक्षण देखिएमा तत्काल चिकित्सकको सम्पर्कमा जान भनेको छ ।
शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा शुक्रबार तनहुँका एक ३६ वर्षीय पुरुषमा मंकीपक्स संक्रमण पुष्टि भएको थियो ।
उनी साउदी अरेबियाबाट नेपाल आएका थिए । जिब्रोमा घाउ आएपछि उनी उपचारका लागि अस्पताल गएका थिए ।
मंकीपक्स संक्रमण हुँदा ज्वरो आउने, ज्वरो सुरु भएको १ देखि ३ दिनभित्र छाला, अनुहार, हत्केला, र पैतालामा डाबर देखापर्ने, डाबर परिवर्तन भइ फोका हुँदै पाप्रा लागेर उप्किने, टाउको, ढाड र मांसपेशी दुख्ने, शरीरका ग्रन्थीहरु बढ्ने, आँखामा संक्रमण भई दृष्टि गुम्ने, निमोनिया, मस्तिष्क ज्वर, गर्भ खेर जाने र मृत्युसमेत हुन सक्ने चेतावनी मन्त्रालयले दिएको छ ।
संक्रमित व्यक्ति वा संक्रमित पशुसँगको सम्पर्कमा आउँदा मंकीपक्स सर्ने पनि मन्त्रालयले जनाएको छ । बिरामीको सम्पर्क, शरीरबाट निस्किएको तरल पदार्थ जस्तै थुक, र्यालको सम्पर्कबाट, भाइरसबाट दूषित सतह र सामग्रीको प्रत्यक्ष सम्पर्क, संक्रमित बाँदर, मुसा, लोखर्के लगायत जनावर र भाइरस रहेको ओछ्यान र कपडाबाट समेत यो रोग सर्ने मन्त्रालयको भनाइ छ ।
यसको रोकथामका लागि एमपक्सको शंका वा पुष्टि भएको व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजाने, संक्रमित व्यक्तिलाई घर वा अस्पतालमा आइसोलेसनमा राख्ने, संक्रमित व्यक्तिको हेरचाह गर्नेले पूर्ण रुपमा जनस्वास्थ्यका मापदण्डहरु पालना गर्ने, घाउँसँग प्रत्यक्ष सम्पर्क हुनसक्छ भन्ने जोखिम छ भने पन्जा लगाउने, नियमित रुपमा साबुनपानीले हात धुने वा स्यानीटाइजरको प्रयोग गर्ने, संक्रमित व्यक्तिका लुगा, तौलिया, ओछ्यान र भाँडाहरु तातो पानी, साबुन वा डीटर्जेन्टले धुने, मंकीपक्सको संक्रमण पुष्टि भइ बिरामी भएका वा मरेका जनावरको सम्पर्कमा नजाने, संक्रमितको सम्पर्कमा आएको व्यक्तिले परीक्षण गर्ने, संक्रमितको सम्पर्कमा आएको सतह स्थान वा कोठा डीटर्जेन्टले निसंक्रमण गर्ने, मासुजन्य खानेकुरा राम्ररी पकाएर मात्र खाने, फोहोरलाई उचित स्थानमा व्यवस्थापन गर्ने कार्य गर्नुपर्ने मन्त्रालयले भनेको छ ।
मिल्दाजुल्दा लक्षण देखिए मन्त्रालयको हेल्लो स्वास्थ्य कल सेन्टर १११५ मा सम्पर्क गरी परामर्श लिन मन्त्रालयले आग्रह गरेको छ ।