काठमाण्डु, ५ पुस– नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेर हाल प्रहरी हिरासतमा रहेका बेचन झा सर्वोच्च अदालत पुगेका छन् । झाले आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने निर्णय बदर हुनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दर्ता गराएका छन ।
उच्च अदालतले पुस १ गते उनलाई थुनामा पठाएको थियो । उच्चले थुनामा पठाएपछि झाले पुस ४ गते सर्वोच्चमा निवेदन दर्ता गराएका थिए । उक्त निवेदनमा आज पेसी तोकिएको थियो । न्यायाधीश कुमार रेग्मीको इजलासमा पेसी परेको थियो ।
रेग्मीको इजलासले कैफियत प्रतिवेदन माग गर्ने आदेश पनि गरेको छ। यो सँगै झाको मुद्दा अब सर्वोच्चमा सुरु भएको छ। उच्च अदालत पाटनले नक्कली शरणार्थी प्रकरणमा मुछिएका बेचन झा र प्रतीक थापालाई थुनामै पठाउन आदेश गरेको थियो । जिल्ला अदालत काठमाण्डुले थुनामा पठाएपछि उनीहरू उच्च अदालत पाटन पुगेका थिए ।
उच्चले पनि जिल्लाकै आदेश सदर गरेपछि उनी सर्वोच्च पुगेका हुन् । उच्च अदालतका न्यायाधीशहरू अन्जु उप्रेती ढकाल र कैलाशप्रसाद सुवेदीको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने निर्णय सदर गरेको थियो । दुवै प्रतिवादीलाई २०८१ भदौ २ गते जिल्ला अदालत काठमाण्डुले थुनामा पठाउने आदेश गरेको थियो ।