काठमाण्डु, ५ पुस– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा नेकपा एकता राष्ट्रिय अभियान पार्टीका संयोजक बामदेव गौतमलाई तेस्रो वरियतामा राख्नेबारे छलफल सुरु भएको छ ।
हिजो (बिहीबार) एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल गौतमलाई भेट्न उनकै निवासमा पुगेका थिए । त्यसक्रममा अध्यक्ष नेपालले गौतमलाई पार्टीमा भएको छलफल सुनाएका अध्यक्ष नेपाल निकट स्रोतले जानकारी दिएको छ ।
०७८ भदौ १८ गते गौतमले नेकपा एमाले परित्याग गरेका थिए । त्यसबेला गौतम एमालेको उपाध्यक्ष समेत रहेका थिए । त्यसपछि नेकपा एकता राष्ट्रिय अभियान गठन गरी त्यसको संयोजकको भूमिकामा रहँदै आएका छन् ।
गौतम हाल राष्ट्रिय सभा सदस्य समेत रहेका छन । हालै सम्पन्न एकीकृत समाजवादीको स्थायी समिति बैठकले पनि गौतमलाई पार्टीमा भित्र्याउने निर्णय गरेको स्रोतले जानकारी दिएको छ । त्यसपछि गौम र एकीकृत समाजवादीमा नेताहरू भेटघाट बाक्लो हुँदौ गएको छ ।