काठमाण्डु, ५ पुस– परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतीय निजी क्षेत्र र उद्यमीलाई नेपालमा सजिलै उपलब्ध हुने लगानीका अवसरबाट लाभ उठाउन आग्रह गरेकी छन् ।
काठमाण्डु विश्वविद्यालय अन्तर्गतको ‘नेपाल सेन्टर अफ कन्टेम्पोररी स्टडिज’ र भारतको ‘फाउन्डेसन अफ इकोनमिक ग्रोथ एण्ड वेलफेयर’ द्वारा दिल्लीस्थित ‘इण्डिया इन्टरनेश्नल सेन्टर’ मा आयोजित नेपाल–भारत आर्थिक सम्मेलनलाई सम्बोधन गर्दै यस्तो अपिल गरेकी हुन् ।
भारत पहिल्यैदेखि नेपालमा ठूलो वैदेशिक लगानीकर्तामध्ये एक रहेको भन्दै विभिन्न क्षेत्रमा लगानी बढाउन आग्रह गरिन् । सडक, रेलमार्ग, जलविद्युत्, केबल कार, अन्तर्राष्ट्रिय विमानस्थल, कृषि, पर्यटन, सूचना प्रविधि लगायतका क्षेत्रमा लगानी गर्न भारतीय लगानीकर्ताहरुलाई उनको आग्रह थियो । ती क्षेत्रमा लगानी गर्दा उच्च प्रतिफल दिने उनले बताइन् ।
अन्तरदेशीय होटल नेटवर्क र डिजिटल प्रणालीको सम्भावनाबारे पनि उनले चर्चा गरिन् । उनले लुम्बिनी र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि भारतीय पक्षको सहयोग आवश्यक परेको बताइन् ।
ठूलो लागतमा ती दुई विमानस्थल निर्माण गरिएकाले त्यसको पूर्ण सञ्चालनका लागि भारतको सहयोग अपरिहार्य रहेकामा उनको जोड थियो । ती दुई विमानस्थल सञ्चालनमा आए नेपाल–भारतबीच आर्थिक मात्र नभई जनस्तरको सम्बन्धसमेत मजबुत हुने विश्वास मन्त्री राणाले व्यक्त गरिन् ।
प्रधानमन्त्री नरेन्द्र मोदी १० वर्षअघि नेपाल आउँदा दुई देशको सम्बन्ध कागजको नभई दिलको भएको बताएको स्मरण गरिन् । नेपाल र भारत छिमेकी मात्र नभई आत्मीय मित्रसमेत भएको उनले उल्लेख गरिन् ।