लोडसेडिङ हुँदा रमाउने जमात कति रहेछ, अहिले हेरिरहेको छुः कार्यकारी निर्देशक घिसिङ

काठमाण्डु टुडे २०८१ पुष ५ गते १२:३५ मा प्रकाशित

काठमाण्डु, ५ पुस– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङबाट रमाउने समूहले लोडसेडिङको हल्ला फैलाएको दाबी गरेका छन ।

आज (शुक्रबार) नेपाल पूर्वाधार पत्रकार संघको वार्षिक साधारणसभामा बोल्दै कार्यकारी निर्देशक घिसिङले यस्तो बताएका हुन । उनले प्राविधिक कारणले केही दिनका लागि पिक समयमा लोड व्यवस्थापन गर्दा लोडसेडिङको हल्ला फैलाइएको बताएका हुन ।

कार्यकारी निर्देशक घिसिङले अहिले अपर तामाकोशी क्षतिग्रस्त भएर मर्मत भइरहेको र कालीगण्डकी समेत नियमित मर्मतका कारण उत्पादन रोकिएका कारण लोड व्यवस्थापन गर्न पिक समयको २र३ घण्टा उद्योग नचलाइदिनुस् भनेको पनि बताएका छन । तर, यही कारणले एक हप्तामै सिमेन्टको १०० रुपैयाँ बढाइएको भन्दै यो गलत भएको उनको तर्क छ ।

उनले उद्योगीले सामान्य समयमा पनि दैनिक १६–१७ घण्टा भन्दा बढी उद्योग नचल्ने गरेको बताउँदै २–३ घण्टा बिजुली नपाउँदा समस्या हुने अवस्था नरहेको पनि बताएका छन ।

उनले अबको १० दिनभित्र अपर तामाकोशी आउने र कालीगण्डकी पनिछिटै सञ्चालनमा आउने भएकोले अहिलेको समस्या लोडसेडिङ नभएर व्यवस्थापनको अल्पकालीन समस्या मात्रै भएको बताएका छन ।

घिसिङले उद्योगीहरुले पहिले लोडसेडिङ हुँदा पनि डिजेलबाट उद्योग नचलाएको भन्दै त्यो समयको बिजुलीको पैसा तिर्न पर्दैन ? भन्दै प्रश्न समेत गरेका छन ।

घिसिङले अहिले सरकार धेरै लगानी गर्नसक्ने अवस्थामा नरहेको र बजेट दिइएका आयोजनामा समेत भुक्तानीको समस्या रहेको भन्दै आयोजनाको प्राथमिकीकरण गर्नुपर्ने पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us