काठमाण्डु, ५ पुस– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले फेरि लोडसेडिङ हुन लागेको भन्ने हल्लामा सत्यता नरहेको बताएका छन् ।
पूर्वाधार पत्रकार समाजले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा घिसिङले प्राविधिक समस्याका कारण केही घण्टा बत्ती नआउँदैमा लोडसेडिङ भएको भन्न नमिल्ने तर्क गरे ।
लोडसेडिङको बहानाबाजी गरेर उद्योगीले उत्पादनको मूल्य बढाएको आरोप उनले लगाए । डेडिकेटेड र टं्रक लाइनको महसुल नतिर्ने उद्योगीहरुले नै उत्पादनको मूल्य बढाएर बढी नाफा कमाउन लोडसेडिङको हल्ला चलाएको आरोप घिसिङको थियो । नकारात्मकतामा रमाउने जमातले गलत हल्ला चलाएको उनको भनाइ छ ।
‘नेपालमा नेगेटिभिटीमा रमाउने जमात कति रहेछ भन्ने मैले यसबीचमा देखिरहेको छु । लोडसेडिङ हुँदा खुसी मनाउने जमात रहेछ भन्ने उदाहरण केही दिनबाट हेरिरहेको छु’, उनले भने, ‘प्राधिकरण नाफामा गयो भन्नासाथ खुसी नहुने र घाटामा गयो भन्नासाथ एकदमै खुसी हुने जमात पनि छ । नेगेटिभिटी देखाएर कसरी कसरी आफ्नो लागि कमाउने भन्ने जमात छ । अहिले उद्योगले बत्ती पाएनौं भनेर सामानको भाउ बढाउन थालेको पनि सुनेको छु । हिजो जनतालाई २० २२ घण्टा लोडसेडिङमा राखेर उद्योगीले कमाएका हुन् । त्यो नाफाको पैसा तिर्नुपर्दैन डेडिकेटेड र ट्रंकलाइनको ? अहिले प्राविधिक कारणले २–४ दिन समस्या हुँदा लोडसेडिङ डिक्लियर गर भन्ने हल्ला पनि त्यही जमातले चलाएको हो ।’
घिसिङले नेपालमा लोाडसेडिङ नभएको र नहुने पनि स्पष्ट गरे । ४ सय ५६ मेवागाटको तामाकोशी जलविद्युत आयोजनामा बाढीले क्षति गरेका कारण विद्युत आपूर्तिमा केही चाप परेको बताए ।