गुल्मी, ५ पुस– जिल्ला प्रशासन कार्यालय गुल्मीको राहदानी शाखामा प्रवेश गरी स्क्यानर फुटाउने कार्यमा संलग्न जिल्लाको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापामगरले गृह प्रशासनको आडमा उन्मुक्ति पाएका छन् ।
थापामगरले आफ्नो पालिकाबाट राहदानी बनाउन आएकाको पहिला पालो आउनुपर्ने भन्दै बिहीबार राहदानी शाखामा रहेको स्क्यानर मेशिन फुटाइदिएका थिए ।
स्क्यानर मेशिन फुटेपछि राहदानी सेवा बन्द भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । घटनापछि केहीबेर उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । तर, केहीबेरमै माथिबाट आदेश आएपछि छाडिएको जिल्ला प्रहरीका एक अधिकृतले बताए । ‘हामीले घटनापछि नियन्त्रणमा लिएर आवश्यक कारबाही अघि बढाएका थियौं’, ती अधिकृतले भने, ‘एकैछिनमा माथिबाट छाडिदिनु भन्ने आदेश आयो ।’
‘माथिको आदेश’ पछि प्रहरीले सामान्य कागजमा हस्ताक्षर गराएर थापामगरलाई बिहीबार छाडेको छ । काँग्रेस नेता रमेश लेखक गृहमन्त्री छन् । थापामगर ०७९ मंसिरमा सम्पन्न स्थानीय तह निर्वाचनमा काँग्रेसबाट कालीगण्डकी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले अनाहकमा गाउँपालिका अध्यक्षले मेशिन तोडफोड गर्दा राज्यको क्षति भएको र राहदानी सेवा ठप्प भएको बताए ।
उनले टोकन प्रणालीमा राहदानी वितरण गर्दै आएको भए पनि सदरमुकामबाट टाढा भएकाले घर जान ढिलो हुने भन्दै पहिला आफ्नो पालिकाका सेवाग्राहीको काम हुनुपर्ने माग राखेका थिए ।
कर्मचारीले सिस्टम मिच्न नमिल्ने बताएपछि उनी आवेगमा आएको गौतमको भनाइ छ ।