काठमाण्डु, ४ पुस– सहकारी ठगी प्रकरणमा पक्राउ परेर जिल्ला प्रहरी कार्यालय कास्कीले हिरासतमा रहेको पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको फोटो सार्वजनिक गर्ने डा. निकोलस भुसालसहित फोटो सार्वजनिक गर्नेमाथि कारबाही गर्ने भएको छ ।
बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै अनुसन्धानलाई नकारात्मक प्रभाव पार्ने गरी फोटो प्रकाशित भएको भन्दै प्रहरीले ध्यानाकर्षण भएको बताएको छ । प्रहरीले फोटो सार्वजनिक गर्ने व्यक्तिलाई कारबाही गर्ने उल्लेख गरेको छ ।
कास्की प्रहरीले विज्ञप्ति मार्फत भनेको छ, ‘गोपनीयता कायम गर्नुपर्ने तस्बिर प्रकाशन तथा सम्प्रेषण गर्ने कार्यमा संलग्न रहेका जो कोही व्यक्तिलाई पनि कानुनी दायरामा ल्याई कानुन बमोजिम अनुसन्धान तथा कारबाही गरिने छ, ‘नेपालको संविधान एवं प्रचलित ऐन कानुन बमोजिम फौजदारी न्याय प्रणालीका मूल्य मान्यताको अनुसरण गर्दै तथ्य एवं प्रमाणमुखी अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय कास्की सदैव प्रतिबद्ध रहेको ब्यहोरा अनुरोध गर्दछौँ ।’
रवि हिरासतमा सुतिरहेको फोटो डा.निकोलसको फेसबुक आइडीबाट सार्वजनिक भएको थियो । निकोलसले फोटो आफूले खिचेको स्वीकार समेत गरिसकेका छन् ।