समानताका लागि नारीवादी परराष्ट्र नीतिः परराष्ट्रमन्त्री राणा

काठमाण्डु टुडे २०८१ पुष ३ गते १६:२४ मा प्रकाशित

काठमाण्डु, ३ पुस– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले समानता र सबै अल्पसङ्ख्यक समूहहरुको अधिकारको सुनिश्चितताका लागि नारीवादी परराष्ट्र नीतिको आवश्यकता रहेको बताएकी छन ।

जर्मनीको बर्लिनमा आयोजित समानतासम्बन्धी सम्मेलनमा नारीवादी परराष्ट्र नीतिसम्बन्धी प्यानललाई मङ्गलबार सम्बोधन गर्दै परराष्ट्रमन्त्री राणाले यस्तो बताएकी हुन ।

उनले यो नीतिले रूपान्तरणको प्रतिज्ञा र सम्भावना बोकेकाले यसको अनुशरण आवश्यक रहेको बताएकी हुन् । जहाँ पितृसत्ता बढी बहिष्करणमुखी र शक्तिकेन्द्रित हुन्छ त्यहाँ समानताको सिद्धान्तले काम गर्छ भन्दै परराष्ट्रमन्त्री डा.राणाले समानताका अन्य नीतिहरुजस्तै नारीवादी परराष्ट्र नीतिले पनि मेलमिलाप, समभाव र समावेशिता अँगाल्ने उनले बताएकी छन ।

उनले भनिन्, ‘नारीवादी परराष्ट्र नीतिले श्रेणीबद्धता र बहिष्करणमा आधारित पितृसत्तात्मक संरचनालाई चुनौती दिने काम गर्दछ । यो नीतिले समावेशिता, सहानुभूति र समानताका सिद्धान्तहरुलाई प्राथमिकतामा राख्दछ र समग्रमा मानव सुरक्षा भन्ने बृहत अवधारणालाई अघि सार्दै कूटनीतिमा सबैलाई समान रुपमा व्यवहार गर्दछ।’

यो नीतिले आपसी समझदारी र समभावको मान्यतामा रहेर लैङ्गिक तथा यौनिक लगायत अन्य अल्पसङ्ख्यकहरूको अधिकार र चासोहरुलाई पनि सुरक्षित गर्न सहयोग गर्ने पनि उनले बताएकी छन ।

उनले भनिन्, ‘हामीले यौनिक र लैङ्गिक अल्पसङ्ख्यकहरूको संवेदनशीलताको सम्मान गर्दै नारीवादी परराष्ट्र नीतिलाई पुनर्जीवित गर्न आवश्यक छ । न्याय र समानतामा आधारित समाज निर्माणमा यो सहयोगी सिद्ध हुनेछ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us