काठमाण्डु, ३ पुस– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय (त्रिवि)को जग्गा हिनामिना गर्ने जोकोही भए पनि कानुनी कारबाहीको दायरामा आउने बताएका छन ।
प्रधानमन्त्री ओलीले आज (बुधबार) सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो बताएका हुन । ओलीले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन, ‘त्रिविको जग्गा खोजबिन आयोगले प्रतिवेदनमा सिफारिस गरेका तथ्यहरूको थप अध्ययन गर्दै सरकारले यसलाई कार्यान्वयन गर्ने छ, ‘त्रिभुवन विश्वविद्यालयको जग्गा विश्वविद्यालयकै नाममा ल्याइने छ र हिनामिना गर्ने जोकोही भए पनि कानुनी कारबाहीको दायरामा आउनेछन् ।’
ओलीले आयोगले अध्ययन गर्न नभ्याएका र नसकेका क्षेत्रलाई पनि थप अध्ययन गरेर खोजिने पनि बताएका छन । उनले भनेका छन, ‘आयोगबाट सिफारिस भएका विषयलाई तत्काल कार्यान्वयन गर्दै खोज्न बाँकी विषयमा थप अध्ययन गरिनेछ ।
हात हालेपछि यसलाई टुंगोमा पुर्याएरै छाडिने छ ।’प्रधानमन्त्रीलाई मंगलबार त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिनका लागि गठन भएको शारदाप्रसाद त्रिताल नेतृत्वको आयोगले आफ्नो प्रतिवेदन हस्तान्तरण गरेको थियो ।
ओलीले २०७६ सालमा ललिता निवासको जग्गा खोजबिन गर्न पनि मन्त्रिपरिषदबाट त्रितालकै नेतृत्वमा आयोग गठन गरेको स्मरण गर्दै ललिता निवासको जग्गा अहिले सरकारको नाममा ल्याउने प्रक्रियामा मुद्दा चलिरहेको समेत आफ्नो फेसबुकमा उल्लेख गरेका छन् ।