काठमाण्डु, ३ पुस– प्रहरीले भक्तपुरमा एक युवकमाथि टाउकामा इटा प्रहार गरेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भक्तपुरको चाँगुनारायण नगरपालिका–६ खरिपाटीका १८ वर्षीय समिर नेपाली, भक्तपुर कमलपोखरीका १८ वर्षीय आशिख सिजखो, बारा घर भई खरिपाटी बस्ने १८ वर्षीय सुमन तामाङ, सिन्धुली घर भई खरिपाटी बस्ने १८ वर्षीय अशोक तामाङ, काभ्रे घर भएका १६ वर्षका दुई किशोर रहेको प्रहरीले जानकारी दिएको छ ।
उनीहरुलाई काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । यो समूहले ३० मंसिरको राति साढे ९ बजेतिर भक्तपुरको कमलपोखरीस्थित पाटीमा बसिरहेका २७ वर्षीय रन्जित कार्कीमाथि कुटपिट गरेको आरोप रहेको प्रहरीले जानकारी दिएको छ ।
कुटपिट गर्नुका साथै टाउकामा इँटाले प्रहार गरेर गम्भीर घाइते बनाएका थिए । पक्राउ परेकाहरुलाई कारबाहीका लागि प्रहरी वृत्त जगाती पठाइएको पनि प्रहरीले जानकारी दिएको छ ।