रवि लामिछानेलाई चितवनबाट पोखरा लाँदा अभद्र व्यवहार भएको छैनः गृहमन्त्री

काठमाण्डु टुडे २०८१ पुष ३ गते १०:१७ मा प्रकाशित

रुपन्देही, ३ पुस– गृहमन्त्री रमेश लेखकले सहकारी ठगीमा संलग्न कसैले पनि उन्मुक्ति नपाउने बताएका छन् ।

काँग्रेस निकट पत्रकारको संस्था प्रेस युनियनले बुधबार रुपन्देहीमा गरेको पत्रकार भेटघाटमा गहमन्त्री लेखकले सहकारीको बचत अपचलनमा संलग्न सयौं व्यक्ति जेलमा रहेको बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेतर्फ लक्षित गर्दै उनले ठगीमा संलग्न सयौंमाथि कारबाही हुँदा पनि अमुक व्यक्तिका बारेमा मात्र बढी चर्चा भएको उल्लेख गरे ।

मकै पोल्ने, ठेला चलाउने र ज्याला मजदुरी गर्नेले जम्मा गरेको रकम हिनामिना गर्नेले भिड जम्मा पारेर न्यायको कुरा गर्न नसुहाउने तर्क उनको थियो ।

रास्वपा सभापति लामिछानेलाई चितवनबाट पोखरा लैजाँदा अमर्यादित व्यवहार नभएको दाबी पनि उनले गरे । भिडले न्याय दिने भए न्यायालय र प्रहरी किन चाहियो भन्दै लेखकले प्रश्न गरे ।

‘लाखौं गरिब मान्छेको अर्बौं रुपैयाँ हिनामिना गर्ने, ठगी गरेर अर्काको रकम खाईदिने अनि मानवअधिकार उल्लंघन भयो भन्ने ?’, लेखकले भने, ‘ उहाँमाथि कुनै अवाञ्छित गतिविधि भएको छैन ।’

लेखकले सहकारी ठगीका मुख्य योजनाकार जिबी राईलाई नेपाल ल्याउन सरकार गम्भीरतापूर्वक लागिपरेको बताए ।

फरक प्रसंगमा लेखकले अस्थिरता मच्चाउन चाहनेले सरकार परिवर्तनको हल्ला चलाएको भन्दै काँग्रेस र एमाले गठबन्धन ०८४ सालसम्म चल्ने जिकिर गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us