काठमाण्डु, २ पुस– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्था र अवस्था दुवै बदलिएको दाबी गरेका छन । आज मंगलबार ललितपुर महानगर स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘कतिपय मानिसहरूले भन्ने गरेका छन्– व्यवस्था बदलियो अवस्था बदलिएन भनेर । तर व्यवस्था पनि बदलियो र अवस्था पनि बदलियो, ‘हिजो निरपेक्ष गरिबीको रेखामुखी ४२ प्रतिशत जनता थिए ।
थोरै होटल थिए । बाटोको अवस्था कस्तो थियो हिजो ? पुराना मानिसले त देखेकै छ, हिजो ललितपुर कहाँ थियो काठमाडौँ कहाँ थियो कहाँ पुग्यो ?’ ओलीले जनताको आम्दानीको स्तर र व्यवसायकोस्तर बढेपनि सबैले काम नपाएको अवस्था सत्य रहेको भन्दै प्रधानमन्त्रीले आम रूपमा देश र जनताको अवस्था हिजोकै जस्तो नभएको पनि बताएका छन ।
उनले उत्तरदायी र जिम्मेवार सरकार अहिले बनेको भन्दै पहिलाको जस्तै कर उठाउन मात्र यो सरकार नबनेको पनि बताएका छन । प्रधानमन्त्री ओलीले भने, ‘विकृतिहरूलाई हटाउने र राम्रो कल्चर भएको थिति बसाल्ने हो सरकारले, शासन होइन सेवा दिने हो सरकारको काम, ‘८२ सालभित्र सडक बालबालिकामुक्त व्यवस्था गर्छ ।’
उनले स्वास्थ्य बीमा व्यवस्थित बनाउने, सामाजिक सुरक्षाका क्षेत्रमा कोही पनि सामाजिक सुरक्षाबाट वञ्चित हुन नदिन योगदानका आधारमा उक्त कार्यक्रम अघि बढिरहेको बताए । उनले तत्कालीन आर्थिक अवस्था नाजुक रहेकाले त्यसलाई सुधार गर्नेतिर सरकार लागिरहेको पनि बताएका छन ।