सांसद पत्नी कोइरालासहित २५ जनालाई अदालतमा उपस्थित हुन म्याद जारी

काठमाण्डु टुडे २०८१ पुष २ गते १५:२६ मा प्रकाशित

काठमाण्डु, २ पुस– सहकारी संस्था ठगी प्रकरणमा संघीय संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालासहित २५ जनालाई अदालतमा उपस्थित हुन म्याद जारी भएको छ ।

मोरङको धनपालथान गाउँपालिका–३ मा रहेको उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणमा उनीहरुलाई अदालतमा उपस्थित हुन म्याद जारी भएको हो ।

यसअघि नै मुद्दा चलेका तर उपस्थित नभएका २५ जनाको हकमा मोरङ जिल्ला अदालतले उपस्थित हुन आउनू भनी ३५ दिने म्याद जारी गरेको हो । सोही सहकारी प्रकरणमा जोडिएका अन्य १० जनाविरुद्ध भने यसअघि नै पक्राउ पुर्जी जारी भइसकेको छ । पक्राउ परेकाबाहेक २५ जनाको हकमा म्याद जारी भएको स्रोतले जानकारी दिएको छ ।

सार्वजानिक लेखा समिति सभापति पोखरेलकी पत्नी कोइराला उमागौरी सहकारीको पूर्वसञ्चालक हुन् । सहकारी संकटमा परेपछि कोइरालाले ५ माघ २०७८ देखि सहकारीबाट राजीनामा दिएकी थिइन् ।

कार्यकर्ताले खोलेको सहकारीको सञ्चालकमा पोखरेलले नै पत्नीको नाम राखेका थिए । शिक्षण पेशामा रहेकी कोइराला सहकारीको कामकाजका बारेमा जानकार थिइनन् । सांसद पोखरेलको सल्लाहमा रौनियारले सहकारी सञ्चालन गर्ने गरेको उनी निकट स्रोत बताउँछ । तर पोखरेलले भने आफ्नी पत्नीलाई अध्यक्ष रौनियारले फसाएको दाबी गर्दै आएका छन् ।

सर्वसाधारणको बचत तथा ऋण अपचलन गरेपछि करिब डेढ वर्षयता सहकारीको कार्यालय बन्द छ । अनुसन्धानमा असहयोग गरेको भन्दै प्रहरीले गत १४ कात्तिकमा सहकारीको कार्यालयको ताला फोडेर कागजात जफत गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us