प्रचण्डको ब्रिफिङः उपनिर्वाचनको नतिजाले कांग्रेस–एमालेको जनमत ह्रासोन्मुख देखियो

काठमाण्डु टुडे २०८१ पुष २ गते १२:०७ मा प्रकाशित

काठमाण्डु, २ पुस– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गएको १६ मंसिरमा भएको स्थानीय तह उपनिर्वाचनको नतिजाले कांग्रेस–एमालेको जनमत ह्रासोन्मुख देखिएको बताएका छन ।

मङ्सिर २८ गतेको स्थायी समिति बैठकको निर्णअनुसार पार्टीको मातहतको कमिटीमा पठाइएको सर्कुलरमा प्रचण्डको ब्रिफिङलाई उद्धृत गर्दै उपनिर्वाचनको नतिजा पार्टीका लागि उत्साहजनक रहेको उल्लेख गरिएको प्रदेश कमिटीका एक अध्यक्षले जानकारी दिएका छन ।

ति प्रदश कमिटीका अध्यक्षका अनुसार प्रचण्डले २८ गतेको बैठकमा स्थानीय उपनिर्वाचनमा पार्टीको उत्साहजनक परिणाम प्राप्त भएका र माओवादीको पक्षमा जनमत गुणात्मक रूपले बढ्दै गएको देखिएको ब्रिफिङ गरेका थिए ।

प्रचण्डको ब्रिफिङमा आधारित सर्कुलरमा भनिएको छ, ‘कयौँ स्थानमा कांग्रेस र एमालेको गठबन्धनका साथै राज्यशक्तिको चरम दुरुप्रयोगका बावजुद पनि ती दुई पार्टीको जनमत ह्रासोन्मुख अवस्थामा देखिएको छ ।’

उपनिर्वाचनमा पार्टीको सिङ्गो पङ्ति एकढिक्का देखिएको र हरेक स्थानमा नेतृत्व तहका नेताहरू समेतको क्रियाशीलताले निर्वाचनलाई परिणाममुखी बनाउन सफल रहेको देखिएको सर्कुलरमा उल्लेख रहेको ती अध्यक्षको भनाइ छ ।

यद्यपि सो उपलब्धिका अलावा पनि पूर्व–विजय प्राप्त गरेका केही स्थानहरू गुम्नु, निर्वाचनको लागि सिङ्गो पार्टी पङ्तिलाई परिचालन गर्ने विषयमा सीमाहरू रहनु, निर्वाचनको लागि आवश्यक सबै पक्षहरूको प्रचुर प्रयोग गर्ने लगायतका विषयहरूमा केही कमजोरी भने देखिएको माओवादीको निष्कर्ष छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us