लोकतान्त्रिक गणतन्त्रको विकल्प राजतन्त्र हुनै सक्दैन: बर्षमान पुन

काठमाण्डु टुडे २०८१ पुष १ गते १५:५७ मा प्रकाशित

काठमाण्डु, १ पुस– पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव बर्षमान पुनले लोकतान्त्रिक गणतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने बताएका छन ।

आज (सोमबार) माओवादी केन्द्रले आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षणमा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन । उनले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै जनतालाई अधिकार र सुविधा प्रदान गर्न अहिलेको व्यवस्थालाई समाजवादी गणतन्त्रमा रुपान्तरण गर्नुपर्ने बताएका छन ।

उनले मुलुकमा वर्तमान व्यवस्थाप्रति विभिन्न टिकाटिप्पणी हुने गरेको छ, कतिपयले राजतन्त्र ठीक पनि भन्ने गरेका छन्, ‘तर लोकतान्त्रिक गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन, समाजवादी नीति, कार्यक्रममार्फत जनतालाई सुविधा दिनेतर्फ अग्रसर हुन जरुरी छ ।’

मुलुकमा राजनीतिक व्यवस्था परिवर्तन भए पनि सत्ता सञ्चालनमा स्थायित्व नहुँदा जनताले चाहे जस्तो विकास र समृद्धि हासिल हुन नसकेको उनले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us