काठमाण्डु, १ पुस– राष्ट्रिय सभा सदस्य वामदेव गौतमले विषयलाई तोडमोड गरेर प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बदनाम गर्ने कोसिस गरेको दाबी गरेका छन । ओलीका स्वकीय सचिव राजेश शाक्यको फोनमा भएको संवादलाई ओलीले प्रचारको विषय बनाएर प्रधानमन्त्री ओलीले आफ्नो बदनाम गर्ने कोसीस गरेको उनले बताएका छन ।
राष्ट्रिय सभा सदस्य गौतमले सोमबार ओलीलाई जवाफ फर्काउँदै शाक्यसँग भएको भ्वाइस रेकर्ड सार्वजनिक गर्न समेत चुनौती दिएका छन । गौतमले मदन भण्डारी हत्यासम्बन्धी कथित निष्कर्ष भएको लिंक आफूलाई प्राप्त भएको र त्योबारे कुरा गर्नका लागि आफूले ओलीलाई फोन गरेको तर नलागेपछि राजेशको नम्बरमा फोन गरेको गौतमले बताएका छन ।
उनले भनेका छन, ‘मदन भण्डारी हत्यासम्बन्धी कथित निष्कर्ष भएको लिंक मेरो फोन र नम्बरमा आयो। हेरेपछि म छाँगाबाट खसेजस्तो भएँ । त्यसपछि मैले आफ्नो पहिलो कर्तव्य तपाईँबाटै जानकारी लिने हो भन्ने ठानेँ। त्यसपछि मैले मेरोमा भएको तपाईँको फोनमा कल गरेँ, तर फोन लागेन। त्यसपछि मैले ।
राजेशलाई उहाँकै फोनमा लिंक पठाइ दिएँ र तुरुन्तै कल गरेँ, उहाँले कल रिसिभ गर्नु भयो र सदा झैँ नमस्कार कमरेड भन्नु भयो।’ उनले अगाडि भनेका छन्, ‘ त्यसपछि मैले उहाँलाई भनेँ, एउटा सिरियस लिंक मेरोमा आयो । केपी कमरेडको फोन उठेन र तपाईंलाई पठाइ दिएको छु तु उहाँलाई पठाइ दिनोस्। मलाई यो धेरै सिरियस लागेको छ।
प्रधानमन्त्री र पार्टी अध्यक्षबाट पनि हट्न पर्ने हुन सक्छ।’ राजेशसँग यो भन्दा बढी आफूले एक शब्द पनि नबोलेको दाबी गर्दै गौतमले फोन नम्बर राजेश कै भएको र उनलाई धुलोमा खेल्ने अवस्थादेखि आफूले चिनेको बताएका छन् । ‘यसलाई केपीले प्रचारको विषय बनाएर मेरो बदनाम गर्ने तुच्छ कोसिस गर्नुहोला भन्ने मलाई लागेको थिएन।
क. केपी म तपाईंलाई चुनौती दिन्छु, मेरो भ्वाइस रेकर्ड सार्वजनिक गरिदिनोस् पिएमको नाताले भ्वाइस रेकर्ड निकाल्न सकिहाल्नु हुन्छ’, गौतमले ओलीलाई सम्बोधन गरेर लेखेको जवाफमा उल्लेख छ । केही दिनअघि ओलीले आफूलाई फोन गरेर गौतमले प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा दिन भनेको दाबी गरेका थिए ।
गौतमसँग आफूले नै राजेशको मोबाइलमार्फत कुरा गरेको भएपनि उनले नचिनेको ओलीले बताएका थिए । प्रधानमन्त्री ओलीको भनाइ थियो, ‘कुरा गर्दै गइयो तर अन्तिममा त तिम्रा ठुला बालाई भन्देऊ । प्रधानमन्त्री र अध्यक्षबाट पनि राजीनामा गर्नु भन्देऊ भनेर एकछिन पड्किनुभयो । हस् म भन्दिउँला भनेँ ।’