काठमाण्डु, ३० मंसिर– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजवादी मोर्चालाई एउटा अपरिपक्व अभ्यासको संज्ञा दिएका छन ।
पूर्वप्रधानमन्त्री नेता खनालले पार्टीको स्थायी कमिटी बैठकमा प्रस्तुत गरेको ‘दशौं राष्ट्रिय महाधिवेशन र हाम्रो तात्कालीक कार्ययोजना’ शीर्षकको प्रस्तावमा नेता खनालले यस्तो टिप्पणी गरेका हुन ।
पूर्व प्रधानमन्त्री खनालले नेपालको कम्युनिस्ट आन्दोलनले एकीकरण र विभाजनका दुवै शृङ्खलाहरू भोग्दै आएको उल्लेख गर्दै संविधान निर्माणपछि एकीकृत हुन खोजेको तर, नसकेको बताएका छन् ।
संविधान बनाइसकेपछि र पहिलो निर्वाचनमा ऐतिहासिक सफलता प्राप्त गरेपछि भने वामपन्थी आन्दोलन हेर्दाहेर्दै एकपछि अर्को विभाजनतिर उन्मुख भयो,’ खनालले लेखेका छन्, ‘देशी–विदेशी प्रतिक्रियावादीहरू जे चाहन्थे आन्दोलनका केही नेताहरूले त्यही चाहनालाई पूरा गरिदिए ।’
परिणाममा वर्तमानमा दर्जनभन्दा बढी वामपन्थी समूहहरू फेरि प्रकट हुन पुगेको उनको विश्लेषण छ । उनी अगाडि लेख्छन्, ‘सबै वामपन्थी समूहहरूलाई कसरी साझा सवालमा एक ठाउँ ल्याउन वा वाम एकता निर्माण गर्न सकिन्छ भन्ने सवाल एउटा चुनौतीपूर्ण सवालका रूपमा हाम्रा सामु छ ।’ यही बेला समाजवादी मोर्चाको प्रयत्न देखा परेको उनले बताएका छन् ।
‘विभाजित वाम समूहहरूलाई एकताबद्ध गर्नुपर्छ भन्ने नाउँमा केही समय अघि ‘समाजवादी मोर्चा’ बनाउने प्रयत्न पनि देखापर्यो । त्यो एउटा अपरिपक्व अभ्यास बाहेक केही थिएन’ खनालको टिप्पणी छ ।
समाजवादी मोर्चा बनाउनका लागि गर्नुपर्ने अभ्यास नै नगरिएको उनको बुझाइ छ । उनी अगाडि लेख्छन्, ‘समाजवादी मोर्चा नै बनाउने हो भने सबैभन्दा पहिले वैज्ञानिक समाजवादको कार्यक्रममा त सहमति हुनै पर्यो नि ।
कुनै पनि मोर्चा वा कार्यगत एकता निश्चित लक्ष्यका आधारमा बन्छ । समाजवादी मोर्चा बन्ने बित्तिकै समाजवादी कार्यक्रम र त्यसलाई प्राप्त गर्ने मुख्य कार्यदिशामा एकरूपता हुनैपर्छ ।’ यी कार्य नभएकाले समाजवादी मोर्चा बनाउने परिस्थिति विकसित नभएको उनले व्याख्या गरेका छन ।