काठमाण्डु, ३० मंसिर– युरोपियन युनियन (ईयू) को युरोपेली आयोगले नेपालको हवाइ क्षेत्रलाई कालो सूचीमा कायमै राखेको छ । ईयूले शुक्रबार सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाएका सबै (२० वटा वायुसेवा) कम्पनीलाई आफ्नो उक्त सूचीमा समावेश नै गरीएको छ ।
ईयूले नेपाली उड्डयन क्षेत्रलाई सन् २०१३ देखि यो सूचीमा राख्दै आएको छ । नेपाल यसअघि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संघ (आईकाओ) को ‘खैरो सूची’ मा समेत परेको थियो ।
तर, उड्डयन क्षेत्रको सुरक्षामा सुधार गरेको भन्दै सन् २०१८ मा यो सूचीबाट भने नेपाल हट्न सफल भएको थियो । उक्त सूचीबाट हटेपछि ईयूको कालो सूचीबाट हटाउन समेत पटक पटक प्रयास गरे पनि अहिलेसम्म ईयूले नेपाललाई यही सूचीमा कायम राखेको छ ।
ईयूको कालोसूचीमा पर्दा नेपाली वायुसेवा कम्पनीहरु युरोपेली मुलुकमा उडान भर्न पाइरहेका छैनन् । युरोपेली विमान भने नेपालमा आउन यो सूचीले रोकेको छैन ।