संस्कृतिको जगेर्ना फुटेर होइन, जुटेर गरौँ: उपप्रमुख डंगोल

काठमाण्डु टुडे २०८१ मंसिर ३० गते १६:२९ मा प्रकाशित

काठमाण्डु, ३० मंसिर– काठमाण्डु महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले संस्कृतिको जगेर्ना गर्न सबै एकजुट भएर अघि बढ्नुपर्ने बताएकी छन ।

आज (आइतबार) वसन्तपुरमा ज्यापु दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख डंगोलले यस्तो बताएकी हुन । उपप्रमुख डंगोलले देशलाई आर्थिक रूपमा सम्पन्न बनाउन र देशको संस्कृतिको जगेर्ना गर्न फुटेर नभइ सबै जुटेर अघि बढ्नुपर्ने बताएकी छन ।

उनले ज्यापु समुदायका विभिन्न संस्कृतिमात्र नभएर नेवारसमुदायभित्र रहेका विभिन्न जातजातिका पर्वहरूको उत्तिकै महत्त्वपूर्ण रहेको उल्लेख गरिन् । उनले देशभरका विभिन्न जातजातिका पर्वहरूलाई पनि उत्तिकै महत्त्व दिनुपर्ने पनि बताएकी छिन् ।

उपप्रमुख डंगोलले सांस्कृतिक महत्त्व बोकेका पर्व, जात्रा सँगसँगै बोलिने भाषा र लेखिने लिपीलाई जीवित राख्नु आजको आवश्यकता भएको दाबी गरेकी छिन ।

उनले भनिन्, ‘हामीले देशलाई आर्थिक रूपमा अघि बढाउन र देशको संस्कृतिको जगेर्ना गरिरहने हो भने फुटेर होइन, जुटेर अघि बढ्नुपर्छ । सबैजना एकजुट भएर लाग्नुपर्छ । ज्यापु समुदायका विभिन्न संस्कृतिमात्र नभएर नेवारसमुदायभित्र रहेका पनि विभिन्न जातजातिका पर्वहरूको उत्तिकै महत्त्वपूर्ण भूमिका छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us