काठमाण्डु, ३० मंसिर– मोरङको ग्रामथान गाउँपालिका–२ झोराहाटमा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराको मृत्यु भएको छ । मृत्यु हुनेमा कटहरी गाउँपालिका–१ का २२ वर्षीय आशिक मरिक र उनका बुबा ४५ वर्षीय उमेश मरिक रहेको प्रहरीले जानकारी दिएको छ ।
शनिबार राति करिब १ बजे झोराहाट चौकस्थित नहरको पुलमा प्रदेश १–०४–००२ प १९०१ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो जिल्ला प्रहरी कार्यलय मोरङले जानकारी दिएको छ ।
मोटरसाइकल छोरा आशिकले चलाएका थिए । तीव्र गतिमा रहेको मोटरसाइकल आफैं घिनाघाट–विराटचोक सडक खण्डको नहरमा ठोक्किएको खुलेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकालाई प्रहरीले विराट नर्सिङहोम पठाएको थियो । अस्पतालमा उपचारका क्रममा राति नै उनीहरूको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।