पत्रकार महासंघमा पहिलो पटक महिला नेतृत्व

काठमाण्डु टुडे २०८१ मंसिर ३० गते ११:५२ मा प्रकाशित

काठमाण्डु, ३० मंसिर– नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्माको विजयी सुनिश्चित भएको छ । नेपाल पत्रकार महासंघको ६९ वर्षे इतिहासमा महासंघले महिला नेतृत्व पाएको यो पहिलोपटक हो ।

केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यमा अधिकांश शर्मा नेतृत्वको प्यानलका उम्मेदवार निर्वाचित हुने निश्चित भएको छ । यस्तै कोषाध्यक्षमा भने रामकृष्ण अधिकारीले जित नजिक पुगेका छन ।

विष्ट प्यानलका उनी प्रेस सेन्टरका नेता हुन् । महासंघको नयाँ कार्यसमिति चुन्न शुक्रबार मतदान भएको थियो । पत्रकार महासंघको केन्द्रीय कार्यालय सिनामंगलमा मतदान सकिए लगत्तै मतगणना सुरु भएको थियो । आइतबार बिहानसम्म मतगणना लगभग सकिएको छ । तर मत परिणाम सार्वजनिक हुन भने बाँकी रहेको छ ।

केन्द्रीय निर्वाचन समितिका संयोजक प्राध्यापक चिरञ्जीवी खनालका अनुसार जिल्ला र प्रदेशले पठाएका विवरण रुजु गरेर चुनावी नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको छ ।

‘दिउँसो १२–१ बजेसम्म नतिजा आधिकारिक रुपमा सार्वजनिक हने सम्भावना छ’ उनले भने । अनौपचारिक रुपमा संकलन गरिएको मतमा शर्मा एक हजारभन्दा बढी मतान्तरले विजयी हुने निश्चित भएको छ । शर्मा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको साझा उम्मेदवार हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us