काठमाण्डु, २९ मंसिर– गृहमन्त्री रमेश लेखकले सहकारी ठगीमा संलग्नमाथिको अनुसन्धान प्रभावित हुने काम कसैले पनि गर्न नहुने बताएका छन । आज शनिबार नेपाल प्रेस युनियन नवलपुरद्वारा कावासोतीमा आयोजित पत्रकार भेटघाटमा गृहमन्त्री लेखकले यस्तो बताएका हुन ।
गृहमन्त्री लेखले लोकतन्त्रमा भिडले न्याय नदिने भन्दै न्यायिक प्रक्रियाबाट नै हरेक गतिविधिको छिनोफानो हुने पनि बताएका छन । यस्तै गृहमन्त्री लेखकले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि मानवअधिकार उल्लंघनको कुनै पनि व्यवहार नभएको भन्दै अदालतको आदेशअनुसार नै अनुसन्धान भइरहेको बताएका छन ।
उनले भने, ‘रविजीमाथि मानवअधिकार उल्लंघनको कुनै काम भएको छैन । सरकार हरेक व्यक्तिको मानवअधिकार रक्षाका लागि प्रतिबद्ध छ, ‘सहकारी ठगीमा संलग्न जो कोहीमाथि अनुसन्धान हुन्छ ।’
जनताले दुःख गरेर जम्मा गरेको करोडौँ रकम हिनामिना गर्नेमाथि अनुसन्धान हुँदा भिड जम्मा गर्ने, अदालत तथा न्यायिक निकाय घेराउ गर्ने जस्ता गतिविधि हुनु दुर्भाग्यपूर्ण भएको उनको भनाइ छ ।
मुलुकमा दिगो विकास, शान्ति, सुशासन तथा समृद्धिका लागि सरकार प्रतिबद्ध रहेको पनि बताएका छन । गृहमन्त्री लेखकले वर्तमान गठबन्धनको विषयमा विभिन्न प्रकारको हल्ला फैलाउने कोसिस भएको भन्दै यो गठबन्धन २०८४ सालको निर्वाचन सम्मै कायम रहने बताएका छन ।
संविधान संशोधन तथा राजनीतिक स्थायित्वका लागि वर्तमान गठबन्धनको आवश्यकता महसुस भएकाले जनचाहना अनुसार काम हुने गृहमन्त्री लेखकले बताएका छन ।