काठमाण्डुको न्यूनतम तापक्रम २ डिग्रीमा झर्‍यो

काठमाण्डु टुडे २०८१ मंसिर २९ गते ११:५६ मा प्रकाशित

काठमाण्डु, २९ मंसिर– पछिल्लो केहि दिन यता काठमाण्डु उपत्यकाको तापक्रम घट्ने क्रममा छ । निरन्तर घटिरहेको काठमाण्डु उपत्यकाको आजको तापक्रम भने न्युनतम २ डिग्री सेल्सियस पुगेको छ ।

आज बिहान पौने छ बजे २.५ डिग्री सेल्सियस मापन भएको तापक्रम बिहान ९ बजे २ डिग्री सेल्सियसमा झरेको मौसमविद् सन्जिव अधिकारीले जानकारी दिएका छन । यो तापक्रम वर्षकै सबैभन्दा कम हो ।

शुक्रबार रातिदेखि नै बादल नलागेर आकास खुल्ला भएकोले न्यूनतम तापक्रम घटेको उनले जानकारी दिएका छन । सामान्यतया बादल नलाग्दा न्यूनतम तापक्रम घट्छ भने बादल लाग्दा अधिकतम तापक्रम घट्छ ।

शुक्रबार राति काठमाडौंको न्यूनतम तापक्रम ३.१ डिग्री सेल्सियस मापन भएको थियो ।आज शनिबार र भोलि आइतबार मौसम सफा हुने देखिन्छ । काठमाण्डु उपत्यकाका खोंचमा र तराई मधेशका जिल्लाहरुमा हुस्सु कुहिरो लागेको छ ।

योबाहेक उल्लेखनीय मौसमी प्रणाली छैन । केही दिन पानी पर्ने सम्भावना पनि देखिँदैन । त्यसैले केही दिनयता लगातार न्यूनतम तापक्रममा गिरावट आएर जाडो बढेको छ । केही दिन यस्तो जाडो कायमै रहने पूर्वानुमान गरिएको मौसमविद् अधिकारीले बताए । अघिल्लो साता ७ डिग्री सेल्सियस वरिपरि रहेको न्यूनतम तापक्रम केही दिनमै २ डिग्री सेल्सियसमा पुगेको हो ।

जुम्ला, जोमसोम र जिरीको तापक्रम यसअघि नै माइनसमा पुगेको छ । जुम्लामा सबैभन्दा कम–७ मा झरेको छ । मंसिर सकिनै लाग्दा तराई र उपत्यकामा हुस्सु र कुहिरो पनि लागेको छ । त्यसले गर्दा पनि जाडो बढेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us