बुटवलमा जिप दुर्घटना हुँदा दम्पतीसहित ३ जनाको मृत्यु

काठमाण्डु टुडे २०८१ मंसिर २९ गते ११:०१ मा प्रकाशित

काठमाण्डु, २९ मंसिर– बुटवलमा बलेरो जिप दुर्घटना हुँदा एक दम्पतीसहित ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल–१२ नयाँ गाउँ बस्ने ७१ वर्षीय तिलकराम खनाल, उनकी श्रीमती ६७ वर्षीया गौरी खनाल र जिप चालक ३२ वर्षीय हरि न्यौपाने रहेको प्रहरीले जानकारी दिएको छ ।

पूर्वपश्चिम राजमार्गको तिनाउ पुलमा भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । गौरी खनाललाई दमको उपचारका लागि नयाँ गाउँबाट लुम्बिनी प्रादेशिक अस्पताल ल्याउने क्रममा जिप पुलको डिभाइडरमा ठोक्किएर पल्टिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिएका छन ।

पुल क्रस गरिसकेपछिको मोडमा जिप दुर्घटनामा परेको उनले जानकारी दिए । उक्त जिप अर्घाखाँची क्याटरिङको रहेको बताइएको छ । शव पोष्टमार्टमा लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us