नक्कली भिडियो नचिनेर वामदेवजीले मेरो राजीनामा माग्नुभयो: प्रधानमन्त्री ओली

काठमाण्डु टुडे २०८१ मंसिर २८ गते १८:१६ मा प्रकाशित

काठमाण्डु, २८ मंसिर– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कूप्रचारबाट बच्न आग्रह गरेका छन् । आज शुक्रबार काठमाण्डुमा एमाले निकट आदिवासी जनजाति महिलाहरूको प्रथम राष्ट्रिय भेला सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले अहिले समाजमा एआईको प्रयोग गरेर गलत प्रचार हुने गरेको बताएका छन ।

कूप्रचारमा कसरी मानिस झुकिन्छन् भन्ने बुझाउन प्रधानमन्त्री ओलीले वामदेव गौतमको टेलिफोन सम्वादलाई उदाहरणका रुपमा लिएका थिए । ओलीका अनुसार, एआई प्रयोग गरी ओलीकै स्वरमा बनाएको भिडियो हेरेर वामदेव गौतमले प्रधानमन्त्री र एमाले अध्यक्ष पद छोड्न सुझाव दिएका थिए ।

ओलीले भनेका थिए, ‘अहिले भर्खर म बाटोमा आउँदै थिएँ, बामदेव गौतमजीको फोन आयो’ ओलीले भने, ‘अनि के भन्नुभयो भने, (ओलीकै स्वरमा एआई प्रयोग गरी बनाइएको भिडियोमा भएको कुरा वामदेवले सुनाए) मदन भण्डारी कांग्रेसले मारेको हो, मलाई पहिला नै थाहा थियो, तर म चुप लागेँ । कांग्रेसले मारेको भन्ने पहिला नै थाहा थियो, मार्छ भन्ने पनि थाहा थियो ।’

यस्तो भिडियो देखेपछि वामदेव गौतमले राजेश (ओलीको स्वकीय सचिव) भनेर आफैसँग प्रधानमन्त्री र अध्यक्ष छोड्न भनेको प्रसंग ओलीले सुनाए । ‘वामदेवजीको नम्बरबाट फोन आएपछि राजेशबाट फोन लिएर मैले उठाएँ, के छ हालखबर भनियो । कुरा गर्दै गइयो, ल तिम्रो ठूलोबालाई भन्देऊ ।

प्रधानमन्त्रीबाट पनि राजीनामा गर्न भन्देऊ अध्यक्षबाट पनि’ वामदेवले भनेको प्रशंग ओलीले सुनाए । तर टेलिफोनमा बोलिञ्जेलसम्म वामदेवले आफूलाई नचिनेको पनि प्रधानमन्त्री ओलीले बताए । ‘अचम्म के लाग्यो भने ।

मेरो आवाज चिन्नुभयो यूट्यूबमा बोलेको, म उहाँसँग कुरा गरिरहेको छु, त्यो चाहिँ चिन्नुभएन’ प्रधानमन्त्री ओलीले भने, ‘एआईको जमाना छ, बनायो होला मेरै आवाजमा कांग्रेस र हाम्रो बीचमा लडाईं लगाउने र मलाई डिफेम लगाउने हिसाबले ।’ प्रधानमन्त्री ओलीले यस्तो गलत कामको नेतृत्व माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरिरहेको पनि आरोप लगाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us