तेह्रथुम, २६ मंसिर– प्रधानमन्त्री केपी ओलीले आफूले नेपालका प्रधानमन्त्री जबाहरलाल नेहरु भनेर पढेको बताएका छन् ।
आफू जन्मिएको तेह्रथुमको आठराई गाउँपालिका–४ इवामा नवनिर्मित प्रणामी माध्यमिक विद्यालयको नवनिर्मित भवनको बुधबार उदघाटन गर्दै ओलीले त्यस्तो बताएका हुन् ।
आफू स्कुल पढ्दाताका नेपाली पाठ्यपुस्तक हिन्दी भाषामा लेख्ने गरिएको ओलीले स्मरण गरे । परीक्षामा प्रधानमन्त्रीको नाम सोध्दा नेपालको नभई भारतको लेख्नुपर्ने अवस्था उनले सम्झिए ।
‘हामी विद्यार्थी हुँदा त्यसबेला हिन्दी पढाइन्थ्यो । त्यसमा हमारे प्रधानमन्त्रीके नाम पण्डित जवाहरलाल नेहरू हे भनेर लेखेको हुन्थ्यो,’ ओलीले भने, ‘हामी त्यहीँ पढ्थ्यौं । जाँचमा हमारा प्रधानमन्त्रीका नाम क्या हे ? भन्ने प्रश्न आयो भने नेपालका प्रधानमन्त्रीको लेखेर हुँदैनथ्यो ।’
ओलीले सोही विद्यालयबाट आधारभूत तहको अध्ययन गरेका थिए । प्रधानमन्त्री ओलीले आफूले सोही विद्यालयमा १ देखि ४ कक्षासम्म अंग्रेजी विषय पढेको बताए ।