डीन र क्याम्पस प्रमुखमा पनि दलीय भागबन्डा खोज्नु अक्षम्य अपराध होः सुमना श्रेष्ठ

काठमाण्डु टुडे २०८१ मंसिर २६ गते १४:२५ मा प्रकाशित

काठमाण्डु, २६ मंसिर– पूर्व शिक्षा विज्ञान एवं प्रविधि मन्त्री समेत रहेकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालय (त्रिवि)को डीन र क्याम्पस नियुक्तिमा सत्तारुढ पार्टीहरूले भागबन्डा खोजिरहेको विषय अक्षम्य अपराध भएकाले तत्काल रोक्न जोडदार अपिल गरेकी छन् ।

उनले योग्यता र क्षमताका आधारमा नियुक्ति हुनुपर्ने प्राज्ञिक क्षेत्रमा पनि दलीय भागबन्डा हुने गरेकोले नै नेपालको उच्च शिक्षा दक्ष जनशक्ति उत्पादन गर्न असक्षम भएको बताएका छन । सांसद श्रेष्ठले एक कार्यक्रममा बोल्दै विश्वविद्यालयमा राजनीतिक दलीय हस्तक्षेप नरोकिएसम्म उच्च शिक्षा सुधार सम्भव नहुने पनि बताएकी छन ।

उनले राजनैतिक दलहरूले नै चेतनशील र सीपसहितको जनशक्ति उत्पादन गर्ने थलोमा प्राज्ञिक दक्षता नहेरी आफ्ना दलका मान्छे राख्न भाग खोज्ने र भाग नपाउँदा विद्यार्थी सङ्गठन परिचालन गरेर अराजकता फैलाउन खोजेको पनि बताएकी छन ।

उच्च शिक्षामा मेरिटोक्रेसी स्थापित गर्नको लागि आफ्नो कार्यकालमा धेरै सङ्घर्ष गरेको तर अहिलेको सरकारले भने फेरि आफ्नो कार्यकर्ता भर्ती केन्द्र बनाउन विश्वविद्यालयको नेतृत्वलाई धम्क्याउने काम गरिरहेको उनको भनाइ थियो ।

दलले नियुक्त गरेको व्यक्तिको जबाफदेहिता दलप्रति मात्र हुने, संस्थाको गुणस्तर र विद्यार्थीको हित प्राथमिकतामा नपर्ने देखिएको छ। शिक्षक एकदमै सम्मानित पेसा भएकाले राजनीतिक दलको आँखाबाट नभएर क्षमता र उत्कृष्टताका आधारमा हेर्नुपर्ने उनको भनाइ थियो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us