विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाण्डु टुडे २०८१ मंसिर २६ गते १४:१५ मा प्रकाशित

काठमाण्डु, २६ मंसिर– प्रहरीले वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–२५ घर भई काठमाण्डुको टोखा नगरपालिका–६ बस्ने ३० वर्षीय मधु तिमल्सिना अधिकारी, रुपन्देही देवदह नगरपालिका–१२ घर भई हाल काठमाण्डु महानगरपालिका–२८ बस्ने ३२ वर्षीया गीता कुँवर तथा काठमाण्डुको बागबजारस्थित ग्लोबल एक्सेल अपस्किल एन्ड स्टडी इन्फो सेन्टरका सञ्चालिका सिराहाको सिरहा नगरपालिका–७ घर भई हाल काठमाण्डु–२२ बस्ने ३० वर्षीया दिव्या यादव रहेको काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिएको छन ।

उनीहरुलाई पक्राउ गरी आज बुधबार प्रहरीले सार्वजानिक गरेको हो । पक्राउमध्ये मधुले रोमानिया पठाइदिने भन्दै तीन जना पीडितहरुबाट रु सात लाख, गीताले युके पठाइदिने भन्दै आठजना पीडितबाट रु १६ लाख पाँच हजार तथा दिव्याले स्लोभाकिया पठाइदिने भन्दै एकजना पीडितबाट रु पाँच लाख १५ हजार लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरुको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरीएएको प्रहरीले जानकारी दिएको छ ।

मधुलाई काठमाण्डुको टोखा–६ बाट र गीतालाई काठमाण्डु –२८ बाट तथा दिव्यालाई काठमाण्डुको न्यूरोडबाट पक्राउ गरिएको काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।

पक्राउमध्ये मधु र गीतालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डु र दिव्यालाई जिल्ला प्रहरी परिसर काठमाण्डु भद्रकाली पठाइएको सूचना अधिकारी आचार्यले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us