काठमाण्डु, २५ मंसिर– जिल्ला अदालत झापाले घरेलु कामदारको रुपमा राखिएकी किशोरीलाई पटकपटक जबरजस्ती करणी गरेको आरोप लागेका बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटीलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
शिवाकोटीलाई बलात्कार आरोपमा अनुसन्धान गर्न तत्काललाई चार दिन हिरासतमा राख्न जिल्ला अदालत झापाले अनुमति दिएको जिल्ला प्रहरी कार्यालय, झापाका डीएसपी कृष्ण चन्दले जानकारी दिएका छन । यो अवधिमा प्रहरीले प्रारम्भिक अनुसन्धान र सोधपुछ गर्नेछ ।
त्यसपछि अनुसन्धानका लागि थप समय हिरासतमा राख्नलाई फेरि समय माग्नेछ । अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘यो गम्भीर विषय भएकाले ४ दिनमा अनुसन्धान सकिने विषय नै होइन, त्यसैले फेरि म्याद माग्छौं ।’
इलाका प्रहरी कार्यालय, अनारमनीले शिवाकोटीलाई सोमबार अपराह्न पक्राउ गरेको थियो । पीडित बालिकाको बुबा नरहेको पनि प्रहरीले जानकारी दिएको छ । आमा भारतको आसाममा बस्छिन् ।
घरको काम गरिदिने र पढाइदिने शर्तमा उनलाई घरेलु कामदार राखेका थिए । तर, त्यसको बहानामा उनले जबरजस्ती करणी गरेको आरोप छ । बालिकाले सुरुमा इलाका प्रहरी कार्यालय, काँकरभिट्टास्थित महिला सेलका अधिकारीहरुलाई घटनाबारे सुनाएका थिए ।
भारत जान लागेका बेला उद्दार गरिएकी उनले जबरजस्ती करणीबारे बताएपछि काँकरभिट्टा प्रहरीले इलाका प्रहरी कार्यालय, अनारमनीमा पठाइदिएको थियो ।