काठमाण्डु, २५ मंसिर– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई चितवनबाट पोखरा लैजाँदा प्रशासनले ज्यादती गरेको भन्दै त्यसको मूल्य कांग्रेस–एमालेलाई चर्को पर्ने बताएका छन ।
आज मंगलबार चितवनमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । अध्यक्ष प्रचण्डले भने, ‘कांग्रेस र एमालेका नेताहरूले प्रधानमन्त्री भइदिनुस् भनेर रवि लामिछानेलाई भनेको र सुनेको मैले आफ्नै आँखाले देखेको छु, ‘अहिले उहाँलाई एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा जसरी आतंकित पार्ने काम भएको छ, यसको मूल्य एमाले र कांग्रेसलाई धेरै चर्को पर्नेछ ।’
साथै, उनले अमानवीय र निरंकुश कामबाट सत्तापक्षकै नेताहरूले पनि विरोध जनाउन थालेको पनि बताएका छन । अध्यक्ष प्रचण्डले थपे, ‘जसरी आतंकित पार्ने हिसाबले मध्यरातमा प्रहरीबाट ज्यादतीबाट भयो भन्ने पनि सुन्छु म,’ उनले भने, ‘नेपाली कांग्रेसले प्रधानमन्त्रीको प्रस्ताव राखेकै हो । तर, त्यतिबेला अहिले म होइन प्रचण्ड नै प्रधानमन्त्री बनाउनुपर्छ भन्ने मान्छे हो रवि लामिछाने ।’