०६४ सालमा जनताले गरेको विश्वास र भरोसालाई कायम राख्न नसकिएकै होः अध्यक्ष प्रचण्ड

काठमाण्डु टुडे २०८१ मंसिर २४ गते १७:४९ मा प्रकाशित

काठमाण्डु, २४ मंसिर– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा समाजवादको भ्रूण रोपिसकिएको उल्लेख गर्दै अब यसलाई अघि बढाउँदै लैजानुपर्ने बताएका छन ।

आज (सोमबार) नेपाल राष्ट्रिय कर्मचारी महासङ्घको १८ औँ स्थापना दिवसको अवसरमा काठमाण्डुमा आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन ।

अध्यक्ष प्रचण्डले समाजवादीको भ्रूण रोपिएकाले यसलाई बढाउँदै लैजाने अबको दायित्व भएको पनि बताएका छन ।

उनले विगतको गम्भीर समीक्षा गर्दै पार्टी र आन्दोलनलाई नयाँ शिराबाट अघि बढाउन प्रण गरेको उल्लेख गर्दै उनले सबैलाई यसमा सहयोग गर्न पनि आग्रह गरे । अध्यक्ष प्रचण्डले आफ्नो तेस्रो प्रधानमन्त्रीत्व कालमा सुरु गरेका सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका एजेन्डाबाट नै समृद्धिको भ्रूण रोप्ने काम गरिएको उनले स्पष्ट पारे ।

उनले भने– ‘विगतका सबै अनुभवबाट शिक्षा लिँदै मेरा आफ्नै पनि कहाँनेर कमजोरी रहे भन्ने आत्मसमीक्षा गर्दै तेस्रोपटक सरकारको नेतृत्व गर्दा भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा, विभेदका विरुद्ध र सामाजिक न्यायका पक्षमा, आर्थिक सङ्कटको अन्त्य गर्दै समृद्धिको पक्षमा लिएको अठोटसँगै समाजवादको भ्रूण रोप्ने काम गरिएको छ ।

’०६४ सालमा जनताले गरेको विश्वास र भरोसा कायम राख्न नसकेको उल्लेख गर्दै उनले पार्टीलाई एकताबद्ध गरेर जनभावनाको उच्च सम्मान गर्दै विकास र समृद्धिमा अगाडि जान नसक्दा आन्दोलन पछि परेको बताए । ‘विगतमा राम्रो गर्न खोज्दा खोज्दै पनि केही ठाउँमा आत्मसमीक्षा गर्ने ठाउँमा पुगेकै छौँ, ‘अध्यक्ष प्रचण्डले भने– ‘हामीले हाम्रा एजेन्डालाई जसरी दृढतापूर्वक अगाडि बढाउनुपर्ने थियो, त्यसमा कमजोरी भयो । हाम्रो वर्ग र समुदायप्रतिको निष्ठा र लगाव कमजोर हुँदै गयो । यसको गहिरो आत्मसमीक्षा गर्ने ठाउँमा हामी आइपुगेका छौँ ।’

आफूहरूले गणतन्त्र नेपालको पहिलो सरकारको नेतृत्व गर्दा केही मध्यपहाडी लोकमार्गलगायतका केही पूर्वाधार विकासको क्षेत्रमा महत्वपूर्ण थालनी र गरिब किसानको पक्षमा ऋण मोचनजस्ता काम गरे पनि पार्टी एकतालाई अक्षुण्ण राख्न नसक्दा ती उपलब्धि जनताको बीचमा लैजान नसकेको पनि अध्यक्ष प्रचण्डले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us