काठमाण्डु, २४ मंसिर– नेपाल प्रहरीका प्रहरी प्रमुख (आईजी) वसन्तबहादुर कुँवरलाई सोधपुछका लागि राष्ट्रिय मानव अधिकार आयोगमा बोलाइए पनि उनी गएका छैनन् ।
पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई मध्यरातमा चितवनबाट पोखरा लगिएको घटनामा सोधपुछका आयोगले प्रहरी प्रमुखलाई बोलाएको थियो ।
रविमाथि हिरासतमै मानव अधिकार उल्लघंन भएको भन्दै बयानका लागि बोलाइए पनि सोमबार कुँवर उपस्थित नभएको आयोगका प्रवक्ता टिकाराम पोखरेलले जानकारी दिएका छन ।
कुँवर आफू उपस्थित नभएर अपराध अनुसन्धान विभागका एआईजी टेकप्रसाद तामाङ, सचिवालयका डीआईजी दानबहादुर कार्की र प्रहरीकै मानव अधिकार शाखाका एसपी मोहनकुमार थापालाई आयोगको कार्यालयमा पठाएका थिए ।
प्रहरीसँग आयोगका सदस्य मनोज दुवाडीले कानूनी शासनको प्रत्याभूतिसहित स्वच्छ पुर्पक्षको अधिकार र बन्दीका आधारभूत मानव अधिकारलाई सम्मान तथा संरक्षण गर्दै निक्ष्पक्ष र स्वतन्त्र अनुसन्धान गर्न भनेका थिए ।
प्रहरी प्रमुख कुँवर उपस्थित नभएपछि यस विषयमा कुँवरसँग थप बुझिने पनि प्रवक्ता पोखरेलले जानकारी दिएका छन ।
जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका रविलाई मध्यरातमा त्यहाँबाट पोखरा लगिएको, उनको डायरी समेत गायब पारिएको र मानव हधिकार उल्लंघन गरिएको भन्दै उनकी श्रीमती निकिता पौडेल र पार्टीले आयोगमा उजुरी हालेको थियो ।