रवि लामिछानेलाई पर्सातर्फ लगियो

काठमाण्डु टुडे २०८१ मंसिर २४ गते १६:४१ मा प्रकाशित

काठमाण्डु, २४ मंसिर–सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति लामिछानेलाई प्रहरीले आज सोमबार पर्सातर्फ लगेको छ ।

सभापति लामिछाने विगत ५० दिनभन्दा बढी समय प्रहरी हिरासतमा रहेका छन । कास्की प्रहरीको हिरासतबाट उनलाई प्रहरीले काठमाण्डु विमानस्थल ट्रान्जिट बनाएर सोमबार पर्सातर्फ लगेको हो ।

उनलाई सोमबार दिउँसो बुद्ध एयरको जहाजबाट काठमाडौँदेखि सिमरा पुर्याइएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ । त्यहाँबाट उनलाई गाडीमा राखेर पर्सा लगिने पनि स्रोतले जानकारी दिएको छ ।

यसअघि आजै बिहान उनलाई पोखराबाट जहाजमा काठमाण्डुमा ल्याइएको थियो । रविमाथि सहकारी ठगी प्रकरणमा पर्सामा पनि उजुरी परेपछि यसअघि नै पक्राउ पुर्जी जारी भइसकेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us