१२ बुँदे सहमति जस्तै शिक्षाको सुधारका लागि १२ बुँदे सहमति गर्नुपर्छः सुमना श्रेष्ठ

काठमाण्डु टुडे २०८१ मंसिर २४ गते १६:२२ मा प्रकाशित

काठमाण्डु, २४ मंसिर– पूर्व शिक्षामन्त्री एवं प्रतिनिधि सभाकी सांसद सुमना श्रेष्ठले शिक्षाको सुधारका लागि १२ बुँदे सहमति हुनुपर्ने बताएकी छन । आज सोमबार शिक्षा समितिमा विद्यालय शिक्षा विधेयकमाथि छलफलमा सहभागी हुँदै पूर्व मन्त्री श्रेष्ठले यस्तो बताएकी हुन ।

उनले विगतमा राजनीतिक दलहरूबिच १२ बुँदे राजनीतिक सहमति भएझैँ शिक्षाको विकासका लागि समेत १२ बुँदे सहमति गर्नुपर्ने पनि बताएकी छन । उनले भनिन्, ‘दलहरूबिच १२ बुँदे सहमति भयो। अहिले शिक्षा क्षेत्रमा देखिएका विद्यमान समस्या समाधानका लागि त्यसरी नै दलहरूबिच सहमति हुनुपर्छ । ’

पूर्व मन्त्री श्रेष्ठले दलहरूले शिक्षाको विकासका लागि गरेको घोषणापत्र तथा बाचापत्रका आधारमा सहमति गरिनुपर्ने पनि बताएकी छन । विद्यालय शिक्षा विधेयकमा यसअघिका विद्यमान ऐनमा के के कुराको कमी छ त्यसमा नभएका कुरा ल्याउनुपर्ने पनि उनले बताएकी छन ।

उनले थपिन, ‘मन्त्रालयको तर्फबाट अहिलेको कानुनमा के के छ, विधेयकमा के के छैन ? किन विधेयक ल्याउन खोजेको हो त्यो ल्याउनुपर्छ । कानुन नभएर नचलेको होइन। त्यसको कार्यान्वयन नभएर समस्या देखिएको हो ।’

उनले अहिलेको विधेयकमा शिक्षकको विषय बढी भएकाले विधेयकलाई शिक्षा विधेयक भन्दा पनि शिक्षक विधेयक भन्नुपर्ने पनि बताएकी छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us