दुर्गा प्रसाईंलाई सीआईबी लगियो

काठमाण्डु टुडे २०८१ मंसिर २४ गते १४:३३ मा प्रकाशित

काठमाण्डु, २४ मंसिर– नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोको हिरासतमा रहेका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा पुर्याइएको छ ।

प्रसाईंलाई आज सोमबार सीआईबीले आपराधिक लाभ (एक्सटर्शन) को कसुरमा अनुसन्धान गर्न लाजिम्पाटस्थित आफ्नो कार्यालयमा लगेको हो । उनलाई अब सीआईबीको महाराजगञ्जस्थित हिरासतमा राखेर अनुसन्धान अघि उच्च स्रोतले जानकारी दिएको छ ।

प्रसाईंलाई सीआईबीले नै ४ मंसिरमा भक्तपुरस्थित उनको निवासबाट पक्राउ गरेर साइबर ब्यूरोलाई बुझाएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी भन्ने विवादास्पद अभिव्यक्ति दिएपछि उनी पक्राउ परेका थिए ।

साइबर ब्यूरोले विद्युतीय कारोबार ऐनको कसुरमा अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएपछि प्रसाईंलाई सीआईबी लगिएको हो । भारतीय गुण्डा नाइके लरेन्स विश्नोईको नाम लिएर व्यवसायीहरूलाई धम्क्याएको आरोपमा अब प्रसाईंमाथि अनुसन्धान हुनेछ ।

यही प्रकरणमा यसअघि सीआईबीको टोलीले १४ मंसिरमा झापाको मेचीनगर–१३ का हरिचन्द्र फुयाललाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । ती युवामाथि अनुसन्धान गर्दा प्रसाईंबीचको कनेक्सन खुलेको थियो । व्यवसायीहरूले धम्की आएको उल्लेख गरेको मितिमा मात्रै उनीहरूबीच १०० बढी पटक फोन सम्पर्क भएको सीआईबी जनाएको छ ।

प्रसाईंकै निर्देशनमा फुयालले काम गरेको देखिएपछि प्रसाईंविरुद्ध पनि आपराधिक लाभको कसुरमा पक्राउ पुर्जी जारी भएको थियो । फुयालले नेपालका विभिन्न जिल्लाहरूबाट घिउ लगेर भारतमा बेच्ने गरेको प्रहरी समक्ष बताएका छन् ।

भारतको पानीट्यांकी भन्ने ठाउँमा आफ्नो पसल समेत रहेको उनको भनाइ छ । फुयालले प्रसाईंसँग माफी नमागे ज्यान समेत जान सक्ने भन्दै दिएका थिए ।

केही समयअघि विश्नोईको नाम लिएर धम्की दिएको भन्दै सीआईबीमा चार व्यवसायीहरूले उजुरी दिएका थिए । भारत र दुबईका नम्बरबाट फोन गर्दै धम्की आएको व्यवसायीको भनाइ थियो । त्यसपछि सीआईबीले अनुसन्धान अघि बढाएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us