विराटनगर, २२ मंसिर– कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले मुलुकका लागि धेरै राम्रो काम गरिरहेको बताएका छन् ।
पार्टीको कोशी प्रदेश सम्मेलनलाई शनिबार विराटनगरमा सम्बोधन गर्दै देउवाले सरकारको नेतृत्वको काम गराइप्रति आफू सन्तुष्ट रहेको बताएका हुन्
‘झुट बोल्ने कुरा छैन । ओलीजीले राम्रो काम गर्दै हुनुहुन्छ,’ देउवाले भने । देउवाले ओलीले चीन भ्रमणका क्रममा मुलुकका लागि निकै राम्रो काम गरेर आएको समेत दाबी गरे ।
ओलीले १७ देखि २० मंसिरसम्म गरेको चीन भ्रमणका क्रममा दुई देशबीच ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआई) फ्रेमवर्कसम्बन्धी समझदारीमा हस्ताक्षर भएको थियो ।
काँग्रेस र एमालेबीच ओली चीन नजाँदै अनुदानमा मात्र बीआरआई परियोजना अघि बढाउने गरी ‘बीआरआई फ्रेमवर्क’ मा सहमति भएको थियो । तर, चीन काँग्रेस–एमाले सहमतिअनुसार सहमति गर्न अनिच्छुक भएपछि अनुदान वा ऋण शब्द नराखी ‘एड फाइनान्सिङ’ भन्ने शब्द समझदारीमा राखिएको छ ।
त्यसको अर्थ वित्तीय सहयोग भन्ने हुन्छ । नेपालमा वित्तीय सहयोग भन्नुको अर्थ ऋण र अनुदान दुवै हुन सक्ने अर्थ लगाइएको छ । कतिपय काँग्रेस नेताहरुले समेत वित्तीय सहयोग भन्ने कुराले ऋणको ढोका खुल्ने भन्दै आलोचना गरिरहेका बेला देउवाले ओलीले राम्रो गरेको बताउँदै बचाउ गरेका छन् ।
‘अहिले बिआरआईको कुरा उठिरहेको छ । सुझबुझपूर्ण रुपमा सम्झौता भएको छ’, उनले भने ‘ऋणभन्दा पनि अनुदानको रूपमा सुविधा लिने विषय हो। ओलीजीले त्यही ढंगले सम्झौता गर्नुभयो । हामीले अब धेरै ऋण लिएर परियोजना चलाउने अवस्था नभएको भनेको हो ।’
देउवाले मुलुकको राजनीतिक स्थायित्वका लागि कांग्रेस र एमालेबीच गठबन्धन गरिएको दाबी गरे ।
देउवाले वर्तमान सत्ता गठबन्धन प्रतिनिधिसभको यो कार्यकालभरि रहने दाबी गरे ।
गठबन्धनमा केही समस्या आए छलफलबाट समाधान खोजिने उनको भनाइ थियो ।