शेखरप्रति गगनको कटाक्षः मान, सम्मान र ठाउँ सबैलाई चाहिन्छ

काठमाण्डु टुडे २०८१ मंसिर २२ गते १६:२० मा प्रकाशित

काठमाण्डु, २२ मंसिर– कांग्रेस महामन्त्री गगनकुमार थापाले नेता शेखर कोइरालाले पार्टीको कोशी प्रदेश सम्मेलन बहिष्कार गरेकामा आपत्ति जनाएका छन् ।

थापाले पार्टीमा मान र स्थान सबैका लागि उत्तिकै महत्वपूर्ण हुने भन्दै कोइरालाप्रति कटाक्ष गरे । कार्यक्रममा देउवापछिको वरियतामा नराखिएको भन्दै असन्तुष्ट कोइराला शनिबार गृहनगर विराटनगरमा आयोजित पार्टी सम्मेलन छाडेर चितवन गएका छन् ।

थापाले चुनाव सबैले लडेको र केही जित्ने र केही हार्ने भएकाले त्यसलाई स्वभाविक रुपमा लिन सक्नुपर्ने औंल्याए । चुनावमा पराजित भएपछि ‘टेक्निकल’ (प्राविधिक) कुरा गरेर पार्टी एकता नखल्बल्याउन थापाले कोइरालालाई आग्रह गरे ।

‘नेतृत्वले सबैलाई मिलाएर लैजानुपर्छ’, उनले भने, ‘पार्टीमा टेक्निकल कुरा गरेर मात्रै हुँदैन । राजनीतिक कुरा मिलाउनुपर्छ ।’ पार्टीभित्र एकता अनिवार्य रहेकामा जोड दिएका थापाले भने, ‘सबैलाई ठाउँ चाहिन्छ । सबैको मान चाहिन्छ । जित्ने हार्ने सबैलाई मिलाएर लैजानुपर्छ ।’

थापाले शेखर समूहले केही दिनअघि विराटनगरमा गरेको गुट भेलाको पनि विरोध गरे । उनले मोरङको एउटा पालिकाको एउटा वडाले सबै मोरङका मान्छे बोलाउँछु जिल्ला सभापति बोलाउँदिन र सुनसरीको सभापति ल्याउँछु भन्यो भने पाइने कि नपाइने भन्दै प्रश्न गरे ।

‘केही समयअघि रूपन्देहीको क्षेत्रीय समितिले देशभरका १६५ वटै क्षेत्रका सभापतिहरूको भेला बोलाउँछु भन्यो, हामीले नगर्नुस्। केन्द्रले त्यसको आयोजना गरिदिन्छ । बरू संयोजन गर्नुस् भन्यौं । कास्कीले पनि ७७ वटै जिल्ला सभापति बोलाउँछु भन्यो हामीले त्यसै भन्यौं’, महामन्त्री थापाले भने भेला गर्न, देशैभरि घुम्न पाइन्छ। तर, संयोजन नगरी नगरौं । विराटनगरको कुनै वडा समितिले वडा सम्मेलन गर्दिन्छु भन्यो भने, महानगर समितिले के गर्छ ? केन्द्रीय कार्यालयले भनेको यत्ति मात्रै हो ।’

थापाले मिसन २०८४ को बहाना बनाएर पार्टीभित्र अनावश्यक बखेडा झिक्न जरुरी नभएको उल्लेख गरे ।

फरक प्रसंगमा उनले पार्टी र सरकारमा भएका मन्त्रीहरुबीच समन्वयमा काम गर्न सकिए ०८४ को चुनावको परिणाम काँग्रेसकै पोल्टामा आउने दाबी गरे ।

‘पार्टी एकातिर, सरकार एकातिर भएर हुँदैन’, थापाले भने, ‘सबै मिलेर जान सकियो भने ०८४ को चुनावको परिणाम हाम्रो पोल्टामा आउँछ । तर, कराएर आउँदैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us