बुझ्दै नबुझी बीआरआईबारे बचपना टिप्पणी नगरौँ:आरजु

काठमाण्डु टुडे २०८१ मंसिर २२ गते १४:५२ मा प्रकाशित

काठमाण्डु, २२ मंसिर– परराष्ट्रमन्त्री आरजु राणा देउवाले बीआरआई सम्झौताबारे भइरहेको आलोचनालाई बचपना टिप्पणी’ को संज्ञा दिएकी छन् ।

इन्टरनेसनल कोर्ट अफ जस्टिस (आइसीजे) को जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सुनुवाइमा भाग लिन नेदरल्यान्डको हेग प्रस्थान गर्ने क्रममा शनिबार परराष्ट्रमन्त्री राणाले उक्त टिप्पणी गरेकी हुन् ।

प्रधानमन्त्री केपी ओलीको मंसिर १७ देखि २० गतेसम्मको चार दिने चीन भ्रमणका क्रममा नेपाल र चीनबीच ‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा सहमति भएको थियो ।

उक्त सम्झौतामा ऋण लिने वा दिनेबारे कुनै निर्णय नभएको बताउँदै मन्त्री राणाले सम्झौताबारे बुझ्दै नबुझी टिप्पणी भइरहेको बताइन् ।

उनले ऋण लिनेरदिने व्यवहार लिने पक्षको मञ्जुरी र आग्रहमा हुने भएकाले ऋण सम्झौता हस्ताक्षर गरियो भन्नु बचपना भएको बताइन् ।

नेपालले चीनसँग बिआरआई बाहेक अन्य कुनै सम्झौतमा हस्ताक्षर नगरेको पनि राणाले स्पष्ट पारेकी छन् । चीनले अघि सारेका ‘डेभलपमेन्ट इनिसिएटिभ्स’ बारेमात्रै नेपालको चासो भएको उनको भनाइ थियो ।

बीआरआई सम्झौता आफैं विकास सहायता भएको बताउँदै राणाले नेपालले चीनको ‘ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ्स’ मा मात्र सहभागी भएको बताइन् ।
न्यूज एजेन्सी नेपालबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us