विराटनगर, २२ मंसिर– गृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकले चीनसँग आफूहरुको सहमतिमै ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआई) ‘फ्रेमवर्क’ मा हस्ताक्षर भएको बताएका छन् ।
कांग्रेस कोसी प्रदेशको प्रथम सम्मेलनलाई शनिबार विराटनगरमा सम्बोधन गर्दै लेखकले सत्तारुढ दलबीचको सहमतिमै बीआरआई सहकार्य फ्रेमवर्कमा हस्ताक्षर भएको बताए ।
प्रधानमन्त्री केपी ओलीको हालै सम्पन्न चीन भ्रमणका क्रममा दुई देशबीच ‘बीआरआई फ्रेमवर्क’ मा हस्ताक्षर भएको थियो ।
‘कांग्रेसको धारणा, सल्लाह र सहमतिअनुसार नै चीनसँग बीआरआई सम्बन्धी थप सम्झौता भएको हो । यसमा अन्यथा सोच्न जरुरी छैन’, लेखकले भने ।
उनले बीआरआईमा ‘फ्रेमवर्क’ मा ऋण लिने विषय उल्लेख नभएको दाबी गरे । प्रधानमन्त्री केपी ओलीले नै ऋण नलिने गरी समझदारी भएको बताएकाले त्यसमा शंका गर्नुपर्ने आवश्यकता नरहेको उनको भनाइ थियो ।
काँग्रेसभित्रै बीआरआई सम्झौतामा अनुदान शब्दको साटो ‘एड फाइनान्सिङ अर्थात वित्तीय सहयोग शब्द उल्लेख गरिएको भन्दै त्यसले ऋण लिने बाटो खुला गरेको भन्दै विरोध भइरहेको छ ।
फरक प्रसंगमा उनले भ्रष्टाचार नियन्त्रण गर्न कांग्रेस–एमाले मिलेर सरकार बनाएको जिकिर लेखकले गरे ।
केही मानिसलाई मन्त्री बनाउन नभई कुलुकको राजनीतिक स्थायित्व, भ्रष्टाचार नियन्त्रण तथा समृद्धिका लागि गठबन्धन बनेको दाबी उनको छ ।