रास्पवाद्वारा ५ जिल्लामा भेला आयोजना

काठमाण्डु टुडे २०८१ मंसिर २२ गते १३:५६ मा प्रकाशित

काठमाण्डु, २२ मंसिर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पाँच जिल्लामा भेला आयोजना गरेको छ ।
पार्टीको सङ्गठन निर्माणका क्रममा रास्वपाले कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका पाँच वटा जिल्लामा भेला आयोजना गर्न लागेको कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
नुवाकोट, भक्तपुर, सल्यान, बाँके र नवलपुरमा आयोजित जिल्ला भेलालाई केन्द्रीय प्रतिनिधिका रुपमा केन्द्रीय नेताहरुले सम्बोधन गर्नेछन् ।
भेलाले पार्टीको संशोधित विधानको साङ्गठनिक संरचनाअनुसार जिल्ला समिति गठन, सङ्गठन निर्माण, यसअघि जिल्ला समिति संरचना रहेको जिल्लामा रिक्त पदहरूको पदपूर्ति गर्ने झाले जानकारी दिए ।

जिल्लाभित्रका निर्वाचन क्षेत्र, पालिका, वडा सङ्गठन निर्माणसम्बन्धी कार्ययोजना छलफलका लागि जिल्ला भेला आयोजना गरिएको सो पार्टीले जनाएको छ ।
पार्टीको केन्द्रीय सङ्गठन विभाग, प्रदेश सङ्गठन विभाग र जिल्ला सभापतिको समन्वयमा जिल्ला भेलाको आवश्यक तयारी मिति तोक्ने र जिल्ला भेला आयोजना गर्ने काम भइरहेको रास्वपाले जनाएको छ ।
रास्वपाले यसअघि देशभरका २३ जिल्लामा जिल्ला भेला सम्पन्न गरिसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us