आठ वर्ष पुरानो मुद्दा यसै वर्ष शून्यमा झार्छौँ: प्रधानन्यायाधीश राउत

काठमाण्डु टुडे २०८१ मंसिर २१ गते १३:०८ मा प्रकाशित

काठमाण्डु, २१ मंसिर– प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले सर्वोच्चमा विचाराधीन ८ वर्ष पुरानो मुद्दा यसै आर्थिक वर्षमा शून्यमा झार्ने बताएका छन । आज शुक्रबार सर्वोच्च अदालतमा पत्रकारहरूसँग कुरा गर्दै न्यायाधीश राउतले यस्तो बताएका हुन ।

उनले भने, ‘८ वर्ष पुराना मुद्दा यस वर्ष जिरोमा झार्ने गरी प्राथमिकतामा राखेर सुनुवाइ गरिरहेका छौँ ।’सर्वोच्चमा ८ वर्ष पुराना १५४ वटा मुद्दा विचाराधीन अवस्थामा छन् । सर्वोच्चमा अहिले १७ न्यायाधीश कार्यरत रहेका छन । ८ वर्ष पुराना मुद्दाको पेशी कानुन व्यवसायीहरूले सार्न नमिल्ने गरी सर्वोच्चले प्राथमिकतामा राखेको छ । सर्वोच्चले गोला मार्फत पेशी व्यवस्थापन गर्दै आएको छ ।

पेशी निर्धारण गर्न ४ प्रकारका गोला प्रयोग गरिन्छ । एकल बेन्च, न्यायाधीशको सिनियारिटीको क्रम, मुद्दा समूह र संयुक्त बेन्चका लागि न्यायाधीशले साथी छान्ने सङ्केत भएका ४ प्रकारकार गोला हुन्छन् । बुधवार पेशी व्यवस्थापनबारे जानकारी दिँदै सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले भने, ‘चार प्रकारका गोलामार्फत मुद्दा बाँडफाँड गरिन्छ ।’

मुद्दाको समूह सर्वोच्च प्रशासनले साप्ताहिक पेशी सूचिमा पहिले नै छुट्टाएर व्यवस्थापन गरेको हुन्छ । प्रत्येक दिन बिहान गोला टिप्नुअघि न्यायाधीशले कुन मुद्दा आफ्नोमा पर्छ भन्नेबारे थाहा नपाउने प्रधान न्यायाधीश राउतले बताए ।

उनले भने, ‘गोला टिपेपछि कुन श्रीमान्लाई कुन मुद्दा परेको छ भन्ने बल्ल थाहा हुन्छ ।’सर्वोच्चले प्राथमिकतामा राखेको अभियानको मुद्दा र इजलासबाट आदेश भएका टपअप सम्बन्धी मुद्दा प्राथमिकतामा पर्छन् ।

टपअप अन्तर्गत बन्दी प्रत्यक्षीकरण र अन्तरिम आदेश छलफल सम्बन्धी मुद्दा पर्छन् । सर्वोच्च अदालतले २०७८ मङ्सिर १५ बाट गोलाप्रथाबाट पेशी व्यवस्थापन गर्दै आएका छ । गोलामार्फत सुरुमा एकल इजलास र त्यसपछि संयुक्त इजलास गठन गरिने सर्वोच्चका प्रवक्ता कुइँकेलले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us