काठमाण्डु, २० मंसिर– नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीको आगामी २३ र २४ गते हुने भनिएको २३ औँ राष्ट्रिय सम्मेलन स्थगित भएको छ ।
आज (बिहीबार) पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले सम्मेलन स्थगित गर्ने निर्णय गरेको नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले जानकारी दिएका छन ।
यसबारेमा निर्णय लिन मंसिर २७ गते स्थायी समिति बैठक बोलाएको पनि पौडेलले जानकारी दिए । पौडेलका अनुसार उमेरहद र निर्वाचन प्रक्रिया सम्बन्धमा स्थायी समितिले मोडिलाटी बनाएर तिथि मितिबारे निर्णय गर्ने पनि उनले जानकारी दिका छन । सचिव पौडेलले भने, ‘विद्यार्थीको सम्मेलनको विषयमा आज कुनै निर्णय भएन ।
त्यसका लागि २७ गते स्थायी समिति बैठक बोलाउने निर्णय भएको छ । विवादित विषयमा मोडालिटी तयार गरेपछि सम्मेलनको मिति घोषणाा हुन्छ ।’
यसअघि असोज १०–१५ सम्म त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा सञ्चालन भएको सम्मेलनमा उमेर हदको विवाद चर्किँदा स्थगित भएको थियो । नेतृत्वको छनोटलाई लिएर पार्टीका शीर्ष नेताहरूले नै प्रतिष्ठाको विषय बनाएपछि विवाद समाधानको मुद्दा पेचिलो बन्दै गएको विद्यार्थी नेताहरूको गुनासो छ ।