बेइजिङबाट नेपाल उडे प्रधानमन्त्री ओली

काठमाण्डु टुडे २०८१ मंसिर २० गते ८:४८ मा प्रकाशित

काठमाण्डु, २० मंसिर– प्रधानमन्त्री केपी ओली चीनको औपचारिक भ्रमण सकेर बेइजिङबाट नेपाल प्रस्थान गरेका छन् ।

ओली बिहीबार बिहान हिमालय एयरलाइन्सको चार्टर जहाजमार्फत नेपालका लागि प्रस्थान गरेका हुन् । ओलीलाई चिनियाँ उपपरराष्ट्रमन्त्री सुन बेइदोङले बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे ।

प्रधानमन्त्री ओली अपराह्न २ बजे काठमाण्डु उत्रने उनको सचिवालयले जनाएको छ ।

ओलीले मंगलबार चिनियाँ राष्ट्रपति सी जिनफिङसँग शिष्टाचार र प्रधानमन्त्री ली खछ्याङसँग द्वपक्षीय भेटवार्ता गरेका थिए ।

भेटमा ओलीले आफ्नो गृहजिल्ला झापाको दमकमा खेलकुद रंगशाला र काँग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराको अमरगढीमा सिटी हल बनाइदिन चीनलाई आग्रह गरेका थिए ।

भ्रमणको उपलब्धीमा ती दुई योजना पनि समावेश भएपछि नेपालमा त्यसलाई लिएर विभिन्न टिकाटिप्पणी भएका छन् ।

८७ सदस्यीय जम्बो टोलीले नतृत्व गर्दै ओली सोमबार चीन गएका थिए । गत असार अन्तिम साता प्रधानमन्त्री भएका ओलीको यो पहिलो औपचारिक विदेश भ्रमण हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us