दुर्गा प्रसाईंको आरोपसँग जोडेर कम्बोडिया भ्रमणबारे प्रश्न उठेपछि राजन भट्टराईले दिए प्रष्टीकरण

काठमाण्डु टुडे २०८१ मंसिर ६ गते १०:०८ मा प्रकाशित

काठमाण्डु, ६ मंसिर– एमाले बागमती प्रदेश इन्चार्ज एवं स्थायी समिति सदस्य राजन भट्टराई कम्बोडिया प्रस्थान गरेका छन् ।

भट्टराई एमालेले शक्ति प्रदर्शनका लागि शुक्रबार राजधानीमा गर्न लागेको सभाका संयोजकसमेत हुन् ।

सभाको अन्तिम तयार हुँदै गर्दा संयोजनको जिम्मेवारी दिएका भट्टराई भने त्यसको एक दिनअघि कम्बोडिया पुगेका हुन् । भट्टराई कम्बोडियामा आजदेखि तीनदिनसम्म चल्ल्ने एसियन पोलिटकल पार्टी (आइक्याप) को १२औं सम्मेलनमा भाग लिन त्यसतर्फ गएका हुन् ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईं प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीको कम्बोडियाको एक टेलिकम कम्पनीमा अर्बौंको लगानी रहेको आरोप लगाएपछि पक्राउ परेका छन् ।

प्रसाईंको आरोपबारे पक्ष र विपक्षमा बहस जारी रहेका बेला भट्टराईको कम्बोडिया भ्रमणलाई लिएर ओलीविरोधीहरुले सामाजिक सञ्जालमा प्रश्न गरेका छन् ।

भट्टराईले सामाजिक सञ्जालमा उठेका प्रश्नको जवाफ सामाजिक सञ्जालबाटै दिएका छन् । उनले नेपालबाट आफू मात्र नभई विभिन्न पाँच दलका नेता उक्त कार्यक्रममा गएको भन्दै भ्रमको खेतीमा नरमाउन भनेका छन् ।

अधिवेशनमा स्थायी समितिको सदस्यका हैसियतले सहभागी हुनुपर्ने भएकाले त्यसतर्फ गएको बताए ।

‘भ्रमको खेतीमा रमाउनेहरुलाई जानकारी होस्, कम्बोडियामा हुने आइक्यापको १२औं महाधिवेशनमा भाग लिन नेपालका ५ भन्दा बढी दलका १३ जना प्रतिनिधि जाँदै छन् । थप केही भन्नु पर्छ र ?’, उनले भनेका छन् ।

भट्टराईले आफ्नो अनुपस्थितिमा ७ मंसिरमा हुने जनप्रदर्शनको संयोजनका जिम्मेवारी नेता कैलाश ढुंगेललाई दिइएको पनि प्रष्टीकरण दिए ।
एमालेले सुशासन, विकास र अराजकताका विरुद्ध भन्दै भोलि दरबारमार्गमा एक लाख कार्यकर्ता उतार्ने बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us