काठमाण्डु, ५ मंसिर– भारतीय गुन्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपाली व्यवसायीलाई धम्कीपूर्ण फोन आइरहेको नेपाल प्रहरीले जानकारी दिएको छ ।
बैंकर र अन्य व्यवसाय गर्नेहरुमध्येका ६ जनाले आफूलाई धम्कीपूर्ण फोन आइरहेको भन्दै प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा उजुरी दिएका छन ।
भारत र दुबईबाट त्यस्तो फोन आएको प्रारम्भिक अनुसन्धानबाट देखिएको सीआईबीका एआईजी दीपक थापाले जानकारी दिएका छन । उनले भने, ‘नेपाली व्यवसायीलाई धम्की दिनेहरूबारे अनुसन्धान भइरहेको छ ।’
सीआईबीले गरेको प्रारम्भिक अनुसन्धानमा भारतबाट मात्रै १४१ वटा कल आएको भेटिएको छ ।
त्यसरी फोन गर्नेहरूले भन्छन्, ‘म लरेन्स ग्याङबाट हुँ, दुर्गा प्रसाईंले हिन्दु धर्म जोगाउन लडेको हुनाले उहाँलाई आर्थिक सहयोग गर्नुस् ।’
फोन गर्नेहरूले दुर्गा प्रसाईंलाई सहयोग नगरे व्यापारीको विस्तृत विवरण आफूसँग रहेको भन्दै धम्की दिने गरेका छन् ।
अनुसन्धानमा संलग्न ब्युरोका एक जना अधिकृत भन्छन्, ‘सुपारी लिएको छु भनेर उनीहरुले धम्की दिने गरेको देखिन्छ ।’
कतिपय बैंकर र मारवाडी समुदायका मानिसहरूलाई फोन गरेर उनीहरुले प्रसाईंसँग ‘माफी माग्नु’ भन्ने गरेको प्रहरीसँग उपलब्ध अडियोमा सुनिन्छ । दुबईबाट पनि त्यस्तो कल आएको देखिएको एआईजी थापाले बताए ।
फोन गर्नेहरूले व्यापारीको ह्वाट्स एपमा गर्ने गरेका छन् । दुबईबाट आएको कलबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।