काठमाण्डु, ४ मंसिर– काँग्रेस नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी ओलीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने अन्तिम तयारी गरेको बताएका छन् ।
आफूहरुको विरोधका कारण ओली पछि हटेको दाबी कोइरालाले गरे । उनले झण्डै दुई तिहाइको समर्थन प्राप्त सरकारलाई दल विभाजनको अध्यादेश ल्याउनुपर्ने कारण आफूहरुले नबुझेको उनले उल्लेख गरे । कोइरालाले अध्यादेश राष्ट्रपतिकोमा पुग्ने चरणमा रहेका बेला सरकार पछि हटेको बताए ।
कोइरालाले ओली र एमाले नेताहरुले अध्यादेश ल्याउने तयारी थिएन भनेर झुठो दाबी गरिरहेको पनि उलेख गरे ।
‘अध्यादेश अलमोस्ट राष्ट्रपतिकहाँ पुग्ने हिसाबले तयारी भएको थियो । काँग्रेस पनि त्यसमा इन्भल्ब भयो । सरकारमा छ नि त नेपाली काँग्रेस । उहाँहरुले जे सुकै भन्नुहोस् यो कुरा म मान्न तयार छैन । स्वीकार्न तयार छैन । उहाँहरुले तयारी गर्नुभएको थियो । अहिले भएन अनि तयारी थिएन भन्नुप-यो’, कान्तिपुर टेलिभिजनको कार्यक्रम फायर साइडमा रुपेश श्रेष्ठसँग कुरा गर्दै कोइरालाले भने, ‘ दुई तिहाइको सरकार छ त्यसमा नेपाली काँग्रेस पनि छ अध्यादेशको जरुरत किन प¥यो ? उहाँहरुले जे सुकै भने पनि प्रधानमन्त्रीको क्वार्टरबाट निस्किएपछि हाम्रो सभापतिले अहिले निर्णय नगरौं । पार्टीमा सल्लाह गर्छौं भनेको त सबैले सुनेको हो । कुरा त भएको थियो नि । सिम्पल कुरा हो यो यति कुरा पनि होइन किन भन्ने ? ।’
मुलुकलाई अप्ठेरो परेका बेला नभई नहुने कानूनका लागि अध्यादेश ल्याउनुपर्ने भए पनि हाल मुलुकमा त्यस्तो परिस्थिति नभएको कोइरालाको स्पष्टोक्ति थियो । एमालेले एकीकृत समाजवादीसहित केही साना दल विभाजन गराएर प्रतिनिधिसभाको ठूलो दल बन्न उक्त प्रयास गरेको कोइरालाले स्पष्ट गरे ।
कोइरालाले विद्युतको बक्यौता उठाउन खोज्दा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन खोजेर सरकारले गलत काम गरेको टिप्पणी पनि गरे ।
सर्वसाधारणले दुई महिना महसुल नतिर्दा लाइन काट्ने गरिएको भन्दै उनले अर्बौं रुपैयाँ नतिर्ने व्यवसायीको लाइन काट्दा सरकारले घिसिङमाथि कारबाही गर्न खोज्नु ठीक नभएको स्पष्ट गरे ।