एमालेलाई काँग्रेस नेता कोइरालाको प्रश्नः सरकारमा बसेर शक्ति प्रदर्शन होइन, काम गर्नुस्

काठमाण्डु टुडे २०८१ मंसिर ४ गते ७:५६ मा प्रकाशित

काठमाण्डु, ४ मंसिर– काँग्रेस नेता डा. शेखर कोइरालाले एमालेले आगामी ७ मंसिरमा राजधानीमा गर्न लागेको जनप्रदर्शनको विरोध गरेका छन् ।
कान्तिपुर टेलिभिजनको कार्यक्रम ‘फायर साइड’ मा रुपेश श्रेष्ठसँग कुरा गर्दै कोइरालाले सरकार नेतृत्वकर्ता सुशासन र विधिको शासनका लागि भन्दै सडक प्रदर्शन गर्ने नभई काम गर्नुपर्ने बताए ।

सडकमा प्रदर्शन गरेर विधिको शासन र सुशासन कायम नहुने भन्दै उनले त्यसका लागि काम गर्नुपर्ने उल्लेख गरे ।

‘सरकारमा भएको पार्टीले सुशासन र विधिको शासन भनेर किन शक्ति प्रदर्शन गर्न लाग्नुभएको हो त्यो मैले बुझ्न सकेको छैन’, कोइरालाले भने, ‘सरकारमा भएको पार्टीले गरेर देखाउनु नि जनसभामा गरेर आफनो शक्ति प्रदर्शन गर्ने होइन । उहाँहरुले के गर्नु खोज्नुभएको हो ? मलाइ भन्नु केही छैन । विधिको शासन र सुशासनका लागि हामी जनप्रदर्शन गर्दैछौं भन्नु चाहिं । सडकमा जनप्रदर्शन गरेर विधि र सुशासन हुँदैन । सरकारले काम गरेर देखाउनुपर्छ ।’

कोइरालाले सरकार गठन गर्नुअघि दुई दलबीच भएको सात बुँदे सहमतिअनुसार सरकार अघि नबढेको बताए ।

संविधान संशोधनमा कुनै तयारी नभएको, आर्थिक सुधारको पक्षमा सरकारका काम केन्द्रित नभएको र दुई दलको बलियो सरकार हुँदा पनि जनतमा आशा जागृत नभएको उनको भनाइ थियो ।

सरकारले गलत काम गर्दा आफूले खबरदारी गरेको उनले उल्लेख गरे ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us