काठमाण्डु, ४ मंसिर– काँग्रेस नेता डा. शेखर कोइरालाले काँग्रेस र एमालेले सरकार सञ्चालनका लागि गठन गरेको राजनीतिक संयन्त्रको विरोध गरेका छन् ।
कान्तिपुर टेलिभिजनको कार्यक्रम ‘फायर साइड’ मा रुपेश श्रेष्ठसँग कुरा गर्दै उनले संयन्त्रको औचित्य नभएको बताए । आफ्ना सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी ओलीबीच पटकपक भेटघभाट भइरहेको आफूले टेलिभिजनमा देख्ने गरेको सुनाए ।
संयन्त्रले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको संयोजन गर्ने जिम्मेवारी परराष्ट्रमन्त्री आरजु राणा देउवालाई दिने निर्णय गरेकामा आफू आश्चर्य चकित भएको कोइरालाले बताए ।
‘संयन्त्रले परराष्ट्रमन्त्रीलाई तपार्ई चाइना भिजिटको काम गर्नुस् भन्ने ? त्यो गर्नै पर्दैन । ‘द्याट इज हर रेस्पोन्सिबिलीटी’ (त्यो उनको जिम्मेवारी हो) । त्यही काम हो नि परराष्ट्र मन्त्रालयको । त्यो दिनै पर्दैन नि । भन्नुपर्छ र ? पराष्ट्रमन्त्रीको कामै त्यही हो’ कोइरालाले भने ।
काँग्रेस र एमालेले गत २१ कात्तिकमा सरकारको कामकारबाही प्रभावकारी बनाउने भन्दै दुई दलका नेता सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गरेका थिए । १५ कात्तिकमा काँग्रेस सभापति देउवा र प्रधानमन्त्री केपी ओलीबीचको वार्तामा संयन्त्र गठन गर्ने सहमति भएको थियो ।
संयन्त्रमा काँग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, केन्द्रीय सदस्य एवं गृहमन्त्री रमेश लेखक र केन्द्रीय सदस्यसमेत रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवा सदस्य छन् ।
यस्तै एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्का उपाध्यक्ष एवं उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार एवं पार्टी उपमहासचिव विष्णु रिमाल छन् । केन्द्रमा जस्तै प्रदेश र जिल्लाहरुमा पनि संयन्त्रहरु निर्माण भइरहेका छन् ।