केही मन्त्री हटाउने तयारी

काठमाण्डु टुडे २०८१ मंसिर ३ गते २०:१० मा प्रकाशित

काठमाण्डु, ३ मंसिर–प्रमुख सत्तारुढ घटक काँग्रेस र एमालेले मन्त्री परिवर्तन गर्ने तयारी गरेका छन् ।

श्रोतका अनुसार एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीच मन्त्री हेरफेर गर्ने विषयमा छलफल भइरहेका छन् ।

ओली स्वास्थ्यमन्त्री प्रदीप पौडेल र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेलाई फेर्न चाहन्छन् । पौडेलले आफूसँग सल्लाह नै नगरी स्वास्थ्य बीमाको रकम १ लाखबाट बढाएर ५ लाख पु¥याउने निर्णय गरेकोमा ओली सुरुदेखि नै असन्तुष्ट छन् ।

पाण्डे भैरहवास्थित एक क्यासिनोलाई ज्याजत दिँदा एक करोड घूस लिएको आरोप लागेपछि विवादमा छन् । काँग्रेसकै सांसद् राजेन्द्र बजगाईंले पाण्डेविरुद्ध सामाजिक सञ्जालबाट उक्त आरोप लगाएका थिए ।

ओलीले ती दुई मन्त्रालय आफूसँगै राख्न चाहेको दाबी पनि काँग्रेस श्रोतको छ । ‘मैले काम देखाउन स्वास्थ्य र पर्यटन मन्त्रालय आफूसँगै राख्नुपर्ने भयो’, ओलीले देउवालाई भनेको श्रोतले बतायो ।

काँग्रेस र एमालेले गत १७ असारको मध्यरातमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढालेर ओलीलाई प्रधानमन्त्री बनाउने सहमति गरेका थिए । ओली असार अन्तिममा प्रधानमन्त्री भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us